चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप चार खर्ब रुपैयाँभन्दा बढीले बढे पनि कर्जा प्रवाह भने एक खर्ब रुपैयाँ हाराहारीमै सीमित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १६ माघसम्म बैंकहरूको कुल निक्षेप ४ खर्ब ४ अर्ब रुपैयाँले बढ्दा कर्जा लगानी १ खर्ब ७२ अर्ब रुपैयाँ मात्र विस्तार भएको हो । निक्षेप बढ्ने गति अनुसार कर्जा माग नआउँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या थप जटिल बन्दै गएको छ । अधिक तरलताका कारण केन्द्रीय बैंकले ब्याजदरको जोखिमयुक्त उतारचढाव नियन्त्रण गर्नसमेत चुनौतीपूर्ण देखिएको छ ।
चालु आव अधिक तरलताका कारण ब्याजदर निकै न्यून भए पनि दीर्घकालीन रूपमा तरलता खिच्न राष्ट्र बैंकले ऋणपत्र जारी गर्यो । केन्द्रीय बैंकले पुसमा मात्रै २ खर्ब रुपैयाँ बराबरको बन्ड जारी गरेर तरलता खिचे पनि ब्याजदरमा अझै दबाब परेको छ । बन्डमार्फत पनि तरलता व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले लामो अवधिको निक्षेप संकलन उपकरण प्रयोग समेत बढाएको छ । साथै, स्थायी निक्षेप सुविधा पनि एक दिन बिराएर बैंकहरुले प्रयोग गर्दै आएको अवस्थामा समेत अधिक तरलताको समस्या जस्ताको तस्तै देखिन्छ ।
केन्द्रीय बैंकका अनुसार आइतबारसम्म वित्तीय प्रणालीको ८ खर्ब ६४ अर्ब रुपैयाँ केन्द्रीय बैंकसँग छ । उक्त पैसा लिएबापत केन्द्रीय बैंकले २.७५ प्रतिशत हाराहारी ब्याज तिर्न पर्छ । तरलता खिच्दा केन्द्रीय बैंकले दिने ब्याजदर भनेको ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् निक्षेप संकलन दर २.७५ हो । बैंकहरूले पनि त्यसभन्दा कम ब्याजदर बचत वा निक्षेपकर्तालाई दिन पाउँदैनन् । त्यसले गर्दा पनि बैंकहरूले चाहेर पनि बचतको ब्याजदर त्यसभन्दा तल ल्याउन नपाएको एक बैंकरले बताए ।
बैंकहरुले आफूखुसी ब्याजदर घटाएको अवस्थामा धेरै भएको पैसा केन्द्रीय बैंकमा राख्न पाउँदैनन् । चालु आव पुसमा केही कर्जा बढेको देखिन्छ । त्यो विगतकै बैंकिङ कारोबार दोहोरिएको हुन सक्ने उनको भनाइ छ । आर्थिक गतिविधि चलायमान भएर भन्दा पनि दोस्रो त्रैमास समाप्तिका कारण पुसमा धेरै कर्जा गएको देखिएको हो । बैंकहरूको उक्त कर्जाले कर्जा भुक्तानी गरी धेरै कारोबार सेटल गर्न मद्दत गरेको हुन सक्ने ती बैंकरको अनुमान छ ।
अर्थतन्त्रमा देखिएको सुस्तता र राजनीतिक अस्थिरताले कर्जा माग बढ्न नसकेको बैंकहरूले बताउने गरेका छन् । नयाँ उद्योग स्थापना गर्ने तथा उत्पादन बढाउने भन्दा पनि पुराना कम्पनी नै बन्द गर्ने वा उत्पादन कटौतीमा लग्दा कर्जा मागमा सुधार नआएको हो । त्यस्तै बैंकहरूले पनि कर्जा डिफल्ट दर बढे पनि सुरक्षित क्षेत्र पहिचान गर्न नसकेपछि कर्जा लगानी नियन्त्रण गर्दा माग बढ्न नसकेको हो ।
चालु आव पुसमा वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब ३० अर्बले बढेको छ । त्यसको कारण बैंकहरूले निक्षेपमा दिएका ब्याजदरका कारण पनि निक्षेप बढ्न मद्दत गरेको हो । त्यसैगरी रेमिट्यान्स आप्रवाहमा देखिएको निरन्तर सुधारले निक्षेप बढ्ने क्रम जारी छ । तर, पुस मसान्तसम्म २० वाणिज्य बैंकले १ खर्ब ५ अर्ब कर्जा लगानी गरेका छन् । त्यसपछि मात्र १६ माघसम्म निक्षेप र कर्जा ९ अर्बका दरले घटेको नेपाल बैंकर्स संघले जनाएको छ ।
संघका अनुसार बैंकहरूको कर्जा लगानी अवस्था हेर्दा गत आव माघसम्मको तुलनामा चालु आव थोरै हो । तर, निक्षेप गत वर्षको तुलनामा धेरै हो । १६ माघसम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ७३.९७ प्रतिशतमा छ । यस्तो अनुपातको माथिल्लो सीमा ९० प्रतिशत हो । १४ माघसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७६ खर्ब ८४ अर्ब पुगेको छ । सो अवधिमा वित्तीय प्रणालीको कर्जा लगानी ५७ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । सोही अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ६९ खर्ब २२ अर्ब छ भने कर्जा लगानी ५१ खर्ब ३९ अर्ब पुगेको छ ।विवरण रकम १६ माघसम्म बढेको कुल निक्षेप ४ खर्ब ४ अर्ब रुपैयाँ १६ माघसम्म बढेको कर्जा लगानी १ खर्ब ७२ अर्ब रुपैयाँ पुस महिनामा जारी बन्ड (तरलता खिच्न) २ खर्ब रुपैयाँ केन्द्रीय बैंकसँग रहेको तरलता (आइतबारसम्म) ८ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन दर (ब्याजदर करिडोरको तल्लो सीमा) २.७५ प्रतिशत पुसमा वाणिज्य बैंकको निक्षेप वृद्धि १ खर्ब ३० अर्ब रुपैयाँ पुस मसान्तसम्म २० वाणिज्य बैंकको कर्जा लगानी १ खर्ब ५ अर्ब रुपैयाँ १६ माघसम्म औसत कर्जा–निक्षेप अनुपात (CD Ratio) ७३.९७ प्रतिशत कर्जा–निक्षेप अनुपातको अधिकतम सीमा ९० प्रतिशत १४ माघसम्म कुल वित्तीय प्रणालीको निक्षेप ७६ खर्ब ८४ अर्ब रुपैयाँ १४ माघसम्म कुल वित्तीय प्रणालीको कर्जा ५७ खर्ब ७५ अर्ब रुपैयाँ १४ माघसम्म वाणिज्य बैंकको कुल निक्षेप ६९ खर्ब २२ अर्ब रुपैयाँ १४ माघसम्म वाणिज्य बैंकको कर्जा लगानी ५१ खर्ब ३९ अर्ब रुपैयाँ
बजारबाट निक्षेप तानेको तान्यई राष्ट्रबैंक
बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले पछिल्लो समय पटक–पटक बजारबाट निक्षेप तानेको छ । तरलता व्यवस्थापनकै उद्देश्यले केन्द्रीय बैंकले विभिन्न अवधिका निक्षेप संकलन उपकरण प्रयोग गर्दै अर्बौं रुपैयाँ बजारबाट झिकेको हो । राष्ट्र बैंकले एकैपटक ३० अर्ब रुपैयाँसम्म निक्षेप गर्दै बोलकबोलमार्फत ब्याजदर निर्धारण गरिएको थियो । सो क्रममा बैंक तथा वित्तीय संस्थाबाट न्यूनतम र अधिकतम सीमा तोकी निक्षेप संकलन गरिएको थियो । कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिएको राष्ट्र बैंकले जनाएको थियो ।
यसअघि पनि राष्ट्र बैंकले चार दिनको अन्तरमै २० अर्ब रुपैयाँ बजारबाट तानेको थियो । पछिल्ला दुई सातामा मात्रै विभिन्न ऋणपत्र तथा उपकरणमार्फत करिब २ खर्ब रुपैयाँ बराबरको रकम बैंकिङ प्रणालीबाट झिकिएको थियो । राष्ट्र बैंकका अनुसार बाह्य क्षेत्रका सूचकहरू सकारात्मक रहे पनि आन्तरिक अर्थतन्त्रमा कर्जा माग कमजोर हुँदा बैंकहरूमा निक्षेप अत्यधिक थुप्रिएको थियो । यही अवस्थालाई सन्तुलनमा ल्याउन केन्द्रीय बैंकले छोटो अवधिमा पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हो ।
के हो निक्षेप संकलन ?
बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण, संस्था तथा व्यवसायबाट बचत, चालु, मुद्दती लगायत विभिन्न खातामार्फत रकम जम्मा गर्ने प्रक्रियालाई निक्षेप संकलन भनिन्छ । यही निक्षेप बैंकहरूको प्रमुख स्रोत हो, जसको आधारमा उनीहरूले कर्जा प्रवाह, लगानी तथा अन्य वित्तीय कारोबार सञ्चालन गर्छन् । सर्वसाधारणले सुरक्षित रूपमा पैसा राख्ने ठाउँ पाउने र बैंकले त्यही निक्षेप प्रयोग गरी अर्थतन्त्रमा कर्जा प्रवाह गर्ने भएकाले निक्षेप संकलन वित्तीय प्रणालीको मेरुदण्डका रूपमा लिइन्छ । निक्षेप संकलन बढ्नुले बैंकमा तरलता सहज भएको संकेत गर्छ भने संकलन घट्नुले कर्जा प्रवाहमा दबाब र ब्याजदरमा उतारचढाव आउने सम्भावना देखाउँछ । त्यसैले मुलुकको आर्थिक गतिविधि, विश्वासको स्तर र बैंकिङ प्रणालीको स्वास्थ्य मापन गर्न निक्षेप संकलनलाई महत्वपूर्ण सूचकका रूपमा हेरिन्छ ।
निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ । स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ । बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।
निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने उल्लेख छ ।


