Banijya News

मदिरा बजारमा १३ वर्षदेखि रोकिएको लाइसेन्सबीच गोरखाको दबदबा

1
1.1K Shares

मदिरा उद्योगमा नयाँ लाइसेन्स वितरण रोकिएको १३ वर्षको क्रममा बजारमा गोरखा ब्रुअरीको दबदबा झन् बलियो बन्दै गएको छ। सरकारले लामो समयदेखि लाइसेन्स रोकेपछि गोरखा ब्रुअरीको बजार नियन्त्रण झन् बढेको हो।

१३ वर्षदेखि राज्यले नयाँ लाइसेन्स जारी गरेको छैन। उद्योग खोल्न पूर्वअनुमति चाहिने यस्ता उद्योगको लाइसेन्स सरकारले लामो समयदेखि रोक्दा भएकै बलिया कम्पनीको एकाधिकार बढ्दै गएको छ।

क्षमता विस्तारमा समेत अनुदार हुने सरकारले बजारमा दुई तिहाइ हिस्सा भएको उद्योगलाई अर्को मदिरा उद्योग गाभ्ने अनुमति दिने तयारी गरेको छ। क्षमता विस्तार गर्दासमेत बजार बढ्ने भन्ने तर्क दिने गरेका कतिपय सरकारी अधिकारीहरू पछिल्लो समय गोर्खा ब्रुअरीलाई अर्को मदिरा उद्योग राज ब्रुअरी गाभ्ने अनुमति दिने तयारीमा छन्।

राज ब्रुअरी आधुनिक उत्पादन प्लान्ट भएको उद्योग हो। यसले बहुराष्ट्रिय बियर ब्रान्डलाई नेपालमा ल्याएर उत्पादन गरेपनि सफलता हात पार्न सकेको थिएन।

घरेलु बियर उत्पादन पनि गरिरहेको राज ब्रुअरीले पछिल्लो समय करारमा गोरखाकै बियर उत्पादन सुरू गरिसकेको छ। यो उत्पादन करार केबल यतिमै सीमित छैन। गोर्खा ब्रुअरीबाट खेतान समूह बाहिरिएसँगै स्थानीय साझेदारका रुपमा राज ब्रुअरी नै भित्रिने तयारी भइरहेको छ।

उक्त खरिद-बिक्री सम्झौताको अनुमतिका लागि उद्योग विभागमा अहिले निवेदन परिसकेको छ। यसको अध्ययन भइरहेको विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले जानकारी दिएका छन्। निवेदनउपर कुनै निर्णय नभएको अवस्थामा राज्यलाई अर्बौँ राजस्व कम हुने गरी गोर्खा ब्रुअरीको ब्रान्ड राज ब्रुअरीमार्फत उत्पादन गर्न दिइएको छ।

गोर्खा ब्रुअरी घाटामा गएको कम्पनी हो। घाटाको कम्पनीबाट नाफामा गएको कम्पनीको उत्पादन गर्दै राज्यलाई व्यावसायिक आयकरमा छलछाम गर्ने काम भएको छ। एकातिर क्षमता विस्तारमा अनुदान हुने विभाग अर्को ब्रुअरी गाभ्ने कुरामा भने उदार हुने देखिएको छ। कुनै पनि उद्योगले क्षमता विस्तारको अुनमति मागेपछि दिनुपर्ने हुन्छ।

यो स्वाभाविक अनुमतिमा विभागले विगत लामो समयदेखि रोकेको थियो। गोरखा ब्रुअरीले नै यसअघि त्यस्तो अनुमति माग गर्दा अड्काइएको थियो। तर बजारमा मोनोपोली खडा गर्न गोर्खा ब्रुअरीलाई राज ब्रुअरी खरिद गर्न दिइएको हो।

यसरी क्षमता विस्तारको अनुमति दिँदा प्रतिस्पर्धी अरु कम्पनीले सोहीअनुसारको तयारीको अवसर पाउँछन्। तर बजारमा अहिले नै दुई तिहाइ हिस्सा भएको गोरखा ब्रुअरीले तयारी अवस्थाकै अर्को उद्योग लिँदा भोलिपल्टदेखि नै बजारमा एकाधिकार झन मजबुत बनाउने जोखिम हुन्छ। तर विभागका महानिर्देशक ज्ञवाली आफू आएपछि कसैको क्षमता विस्तारमा अनुदार नभएको बताउँछन्।

1

Scroll to Top