पुस २२, काठमाडौं ।
ठगी धन्दा चलाएको आशंकामा दुई साताअघि पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई सरकारले अध्यागमन ऐन अनुसार ५० हजारसम्म जरिमाना तिराएर स्वदेश फर्काउने भएको छ । नेपालमा कुनैपनि अपराध गरेको नपाईएको तर पर्यटक भिसामा नेपाल आएर केषमा जरिवाना तिराएर स्वदेश फिर्ता पठाउने तयारी सरकारले गरेको छ ।
अध्यागमन ऐनमा ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । पक्राउ परेकामध्ये ९७ जनाको राहदानी नै छैन । सबैलाई अध्यागमन ऐन अनुसार जरिवाना तिराएर फिर्ता पठाउन अध्यागमन विमागले चिनियाँ दूतावासबाट ट्राभल डकुमेन्ट मगाएको छ ।
उनीहरू कामदारका रूपमा छनोट भएको तर पर्यटक भिसामा नेपाल प्रवेश गरेको पाइएको छ । प्रहरीका अनुसार एक सयभन्दा बढी चिनियाँलाई नेपाल ल्याउने मुख्य एजेन्ट चीनकै हुन् । नेपालमा कम्पनी खोलेको देखाएर त्यो एजेन्टले गुगल जस्तै चीनमा चल्ने बैदुमा कामदार माग गरेका थिए । त्यही विज्ञापन देखेर कामदारको रुपमा चिनियाँहरु नेपाल आएको खुलेको छ । पक्राउ परेका सबै चिनियाँ नागरिकले पर्यटक भिसामा नेपाल आइ घर नै भाडामा लिएर काम गरेकाले उनीहरुमाथि अध्यागमन ऐन अनुसार पनि कार्वाही हुन्छ ।
तर उनीहरुको साथबाट बरामद सामान भने थप अनुसन्धानका लागि राखिने छ । नेपालमा बसेर चीनमा आर्थिक अपराधको गिरोह नै चलाउन आएका चिनियाँको अपराधको शैली प्रहरीले पत्ता लगाउन सकेको छैन ।
अनुसन्धानका लागि दुई साता हिरासतमा राखिएका ती चिनियाँविरुद्ध जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको मुद्दामा दोषी ठहर गर्दै आइतबार जनही एक हजार रूपैयाँ जरिवाना तिराउने निर्णय गर्यो ।


