२ चैंत, काठमाडौं
कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा नयाँ ट्राफिक नियम लागू भएको छ । उक्त सडक खण्डमा यात्रुवाहक–मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजीरसाना सवारी साधनहरू सधैँ दाहिने दुर्त लेनबाट मात्र चलाउने नयाँ व्यवस्था आइतबारदेखि लागू भएको हो ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले कोटेश्वरमा एक कार्यक्रम बीच संयुक्त रूपमा रिवन काटेर यो व्यवस्थाको शुरूवात गरेका छन् ।
सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
ट्राफिक सचेतनाको लागि प्ले कार्ड सबै नागरिकहरूलाई लेन प्रयोगसम्बन्धी जानकारीका ३० भन्दा बढी जानकारीमूलक बोर्डहरू राखिएका छन् । उक्त सडकखण्डका चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकेर ट्राफिक प्रहरीहरूद्धारा जानकारीसमेत प्रदान गर्ने गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरूले बोल्दै यस व्यवहारिक र रचनात्मक कार्यलाई अगाडी बढाउन उत्साहवर्धन गर्दै आगामी दिनमा साथ र सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरे ।


