बैशाख ११, काठमाडौं ।
आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । आमाप्रति श्रद्धा दर्शाउन बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नगर्ने चलन भएपनि कोरोना संक्रमणले भएको लकडाउनका कारण आमा भेट्न जानेको इच्छापुरा नहुँने भएको छ ।
यो बर्ष विभिन्न मठमन्दिरमा बिहानैदेखि सर्वसाधारणको भिड लागेको पनि देखिने छैन् । अधिल्ला बर्षमा बिहान सबेरैदेखि मातातिर्थ कुण्डमा स्नान गर्नेहरुको भीड हुनेमा त्यो लकडाउनले हटाएको हो । मेलामा सहभागी भई कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ ।
आज आमा भेट्न नपाएकाहरुले भने आमालाई सम्झने विकल्प फोनबाटै आमाको मुख हेर्नुपर्ने भएको छ । पछिल्लो समयमा बढ्दो सूचना प्रविधिको विकासले फेसबुक तथा ट्वीटर जस्ता सामाजिक सञ्जालमा मातातीर्थ औँसी र यसको महत्व सम्बन्धमा विभिन्न किसिमले उल्लेख गरिएको पाइन्छ ।


