असार २६, काठमाडौं ।
अविरल वर्षाले गर्दा खोला तथा नदीमा आएको बाढीका कारण करीब ५ सय मेगावाट विद्युत् उत्पादन बन्दभएको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत् गृहहरूबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रशारण र वितरण प्रणाली प्रभावित भएको बताए । बाढीका कारण प्राधिकरणका विद्युत् गृहबाट करीब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । बन्द रहेका विद्युतगृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली खटिएको उनको भनाइ छ । बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत्गृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । त्यस्तै प्राधिकरणका ७० मेगावाटको मध्यमर्स्याङ्दी, १६ मेगावाटको त्रिशुली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोशी लगायतका विद्युत्गृहको करिब २४० मेगावाट विद्युत् उत्पादन भएको छ ।


