Banijya News

धोवी खोलामा निर्माण गरिएका दुईओटा पुल सञ्चालनमा

1
1.0K Shares

साउन १०, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ५ र ७ लाई जोड्ने धोवी खोलामा निर्माण गरिएका दुईओटा पुल सञ्चालनमा आएका छन् ।

उक्त पुल वडा नं ५ ले निर्माण गरेको हो । शनिवार महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सोही क्रममा प्रमुख शाक्यले भने, ‘हाम्रो कामको मूल्यांकन जनता आफैँले गर्नुहुनेछ, पार्क बनाउने, सार्वजनिक जग्गाको पहिचान गर्ने, सडक र यातायात सुधार, पैदल यात्रुको यात्रा सहजता, सम्पदा संरक्षण लगायतका काम महानगरका प्राथमिकतामा  रहेका छन् ।’

दुई पुलको लागत रू. १६ लाख ७४ हजार रहेको बताइएको छ । यी पुलबाट दैनिक ३०० भन्दा बढी पैदल यात्रुले प्रयोग गर्ने अपेक्षा गरिएको छ । ‘अब खोला पार गर्न लामो दूरी हिँडेर टाढा पुग्नु पर्दैन, वडा नं ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल भने, ‘यसबाट वडा नं ५ र ७ का बासिन्दालाई वारिपारि गर्न सहज हुनेछ ।’ 

त्यस क्रममा उपप्रमुख खड्गीले स्थानीय आवश्यकता पूरा गर्न सके आफ्नो कार्यकाल सफल हुने बताउँदै जनताका अपेक्षा पूरा गर्न महानगर सधैँ प्रतिबद्ध रहेको पनि पुनः दोहोर्‍याए । महानगरपालिकाले आफ्नो कार्यक्षत्रभित्र पर्ने अन्य सात स्थानमा पनि आकासे पुल निर्माणको काम गरिरहेको छ । माइतीघर र चावहिलमा निर्माणको अन्तिम चरणमा पुगेको र अन्य स्थानमा पनि निर्माणको काम भइरहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । 

प्रवक्ता डङ्गोलका अनुसार टेकु, कालीमाटी, कोटेश्वर, त्रिपुरेश्वरलगायत मानिसको बढी भीडभाड हुने स्थानमा पनि आकासे पुल निर्माणको तयारी थालिएको छ । रासस

1

Scroll to Top