श्रावण १४, काठमाडौं ।
जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुन छाडेपछि संकटमा परेका छन् । दोस्रो बजारमा सूचीकृत ३३ जलविद्युत् कम्पनी मध्ये १८ कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै कम भइ कारोबार नभएपछि संकटमा परेका हुन् ।
अहिले सूचीकृत ३३ कम्पनीमध्ये १५ वटा कम्पनीको सेयर मुल्य मात्रै उच्च रहेको छ । सबैभन्दा उच्च चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४०४ रुपैयाँ रहेको छ । त्यस्तै, बुटवल पावर कम्पनीको ३६४ रुपैयाँ, अपर तामाकोसीको २२९ रुपैयाँ र सानीमा माई हाइड्रोपावरको सेयर मूल्य २२१ रुपैयाँ रहेको छ भने अन्य कम्पनीकोे एक–दुई सयको बिचमा कारोबार हुँदै छ ।
बाकि १८ सूचीकृत कम्पनीको सेयर अंकित मूल्यभन्दा निकै कममा कारोबार हुँदासमेत नियमनकारी निकायले कुनै चासो दिएका छ्रैनन् । सूचीकृत कम्पनीको वित्तीय अवस्था कमजोर भएकै कारण लामो समयसम्म कम्पनीले लाभांश दिन नसक्नु, बजार घट्ने कारणले लगानीकर्ता संकटमा परेका छन् । अंकित मूल्यभन्दा कममा दोस्रो बजारमै सेयर पाउन थालेपछि आगामी दिनमा जलविद्युत् कम्पनीको प्राथमिक सेयर बिक्री गर्न प्रवद्र्धक कम्पनीलाई झनै संकट पर्दै आएको छ ।
त्यस्तै दोस्रो बजारमा उचित मूल्य पाउने नदेखेपछि पछिल्लो समय सर्वसाधारणले जलविद्युत् कम्पनीका सेयर खरिद गर्न नै छाडेका छन् । जलविद्युत् आयोजनाको नियमन गर्न गठन भएको विद्युत् नियमन आयोग र सरकारले जलविद्युत् क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन नगर्दा यो क्षेत्र संकटामा पर्दै गएको छ ।


