पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नयाँ आकडाँमा सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, कास्की, मोरङ, धनुषा र बाँकेका एक एक जना पुरुष र तनहुँकी एक महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।
नेपालमा थप १०१६ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ५६३ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १७ हजार ५८० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६४.२ रहेको प्रवक्ता गौतमले बताएका छन् । त्यस्तै अहिले देशभरमा १३ हजार ९२६ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ६७६ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै २ हजार ८८७ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । काठमाडौँ उपत्यकामा आज पनि थप २०५ जना कोरोना संक्रमित भएका छन् ।


