काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । नेप्से परिसूचक ७.३५ अंकले बढेर १४९५.१५ को विन्दुमा पुगेको छ । लगानीकर्ताहरुको मनोबलमा ब्रेक लागेसँगै परिसूचकमा वृद्धि भएपनि कारोबार रकममा कमी आएको छ । आज कारोबार रकम भने २ अर्ब रुपैयाँमुनि ओर्लेको छ ।
आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.८३ अंकको वृद्धिका साथ २९९.४७ अंकले बढेको छ । आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ ।
यो दिन व्यापार समूहमा सबैभन्दा बढी ८१.३ अंकको उछाल आएको छ। उत्पादन तथा प्रशोधन समूहमा ८०.६४ अंकको बढोत्तरी भएको यो दिन निर्जीवन बीमा समूहमा ७३.४३ अंक, विकास बैंक समूहमा ७.०४ अंक, जलविद्युत् समूहमा २१.१ अंक, वित्त समूहमा ४.४९ अंक, अन्य समूहमा १२.५६ अंक, लघुवित्त समूहमा १९.१६ अंक, जीवन बीमा समूहमा ४८.५९ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको वृद्धि भएको नेप्सेल जनाएको छ ।


