काठमाण्डौ — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक आन्दोलन नगर्न अनुरोध गरेका छन् ।
आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको भएको बताउँदै आन्दोलन नगर्नको लागि आग्रह गरेका हुन् ।
नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको भन्दै घिसिङले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई सबैले आत्मसाथ गर्नैपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपाल पनि आक्रान्त भएको बेला आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखेर महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरि दिनुहुन भन्दै विज्ञप्ति जारी गरेका हुन् ।


