काठमाडौं ।
नेपालसँगका नाका खोल्न चीन अनिच्छुक हुँदा ब्यापारीका सामान बोकेका कन्टेनर नाकाहरु मैं अलपत्र परेका छन् । चीनले सामान निर्यातको लागि चासो नदेखाउँदा कोरोनाको संक्रमण सुरु हुनभन्दा ६ महिना अघिदेखि केरुङमा सामान अलपत्र अवस्थामा नै छन् ।
रसुवागढी भन्सार नाका खोल्ने भनेपनि चीनियाँ पक्षले विविध कारण देखाउँदै नाका खोलेको छैन् । रसुवागढी भन्सारका अनुसार चीनले भदौ २६–२७ गतेदेखि सामान छाड्ने आश्वासन दिएको थियो । तर, त्यसको साता दिन बितिसक्दा पनि सामान छोडिएको छैन ।
राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यापारीहरुले घरखेत नै राखेर ऋण लिकालेको र सामान केरुङ लगायतका नाकामा अलपत्र पार्दा ब्यापारीमा नैराश्यता पैदा गरेको बताउँछन् । उनका अनुसार झण्डै ११ सय कन्टेनर केरुङमा अलपत्र परेका छन् । सामान ल्याउन सबै निकायमा धाउँदा पनि सामान नेपाल ल्याउँन नसकिएको गुनासो उनले गरे ।
अरु वर्षमा दशैं आउनुभन्दा १–२ महिना अगाडी नै चीनबाट सामान ल्याउने तयारी हुन्थ्यो । तर यस वर्ष पहिलेको सामान नै केरुङमा अलपत्र पारेका कारण व्यापारीहरु समस्यामा परेका हुन् ।
भन्सार प्रमुख पुण्यविक्रम खड्काले नेपाल पक्षबाट नाका खोल्न पटक–पटक आग्रह भए पनि चीनले यसमा चासो नदेखाएको बताएका छन् । उनले अधिल्लो साता नै सामान छोडने कुरा गरपनि सामान नछाडिएको बताए । नेपालतर्फ कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नाका खोल्न चीन अनिच्छुक देखिएको बुझाइ नेपाली पक्षको छ ।
माघ १५ देखि बन्द रहेको रसुवागढी नाका गत असार २२ गते खुलेको थियो । तर, साउन ३२ गतेसम्म सञ्चालनमा आएको नाका त्यसपछि चीन र नेपाल दुवैतर्फ पहिरो गएका कारण फेरि बन्द भएको थियो ।
फेरि चीनले केरूङबाट भदौ १२ देखि १७ गतेसम्म नेपाल भित्रिनका लागि आइपुगेका सामान छाड्यो । चीनले पाँच दिनसम्म दैनिक आठ कन्टेनर सामान नेपाल भित्रिन दिएको थियो ।
चीनसँगको अर्को प्रमुख व्यापारिक मार्ग तातोपानी नाका पनि केही समयअघिको बाढी–पहिरोका कारण पूर्ण रूपमा बन्द छ । दसैँ नजिकिँदै गएका बेला तातोपानी नाका पनि बन्द रहेकाले केरूङ नाका खुलाउनुपर्ने दबाब नेपाली प्रशासनलाई छ । नेपालमा चीनबाट समान आउँने क्रम केरुङनाका झण्डै ११ महिना अगाडिबाट बन्द भएको थियो ।
त्यसको केही समयपछि चीनमा कोरोना महामारी सुरू भयो र सबै नाका बन्द गरियो । करिब ७ महिनापछि खुलेको बजारमा खासै सामान बिक्री नभएको व्यापारीहरु बताउँछन् । यो वर्षको दशैंमा चीनबाट सामान आउन नसक्दा बजारमा भने केही कमी हुने केही व्यापारीहरुको तर्क छ । केही व्यापारीहरुले दशैंका लागि सामान चीनबाट भारत हुँदै नेपाल आइरहेको बताए ।
केरुङबाट सामान ल्याउन उद्योगमन्त्री, आपूर्ति सचिव र भन्सार कार्यालय लगायतका ठाउँमा गएको तर सामान ल्याउन कुनै चासो नदेखाएको व्यापारीको गुनासो छ । समान आपूर्तीमा समस्या पर्दे गएपछि रोकिएको समान ढुवानीमा गम्भिर भैदिन ब्यापारीले रसुवागढी भन्सार तथा वाणिज्य मन्त्रालयको आग्रह गरेका छन् ।
ब्यापारीको आग्रह र चीनले पटक–पटक नाका खोल्न आलटाल गरेपछि रसुवागढी भन्सारले शुक्रबार परराष्ट्रलाई पत्र लेखेर नाका खुलाउन आग्रह गरेको छ । नाका यसै सातादेखि सञ्चालनमा आउनेमा वाणिज्य मन्त्रालय, भन्सार कार्यालय र व्यवसायीहरू आशावादी हुँदा परराष्ट्रले कुनै चासो नदिएको सरोकारबाला बताउँछन् ।


