असोज १५, काठमाडौं ।
चिकित्सा शिक्षा सुधारको माग राखेर १८ दिनदेखि अनशनमा बसेका डा. गोविन्द केसीलाई सरकारले अनशन तोड्न आग्रह गरेको छ ।
बिहिबार बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले कोरोना महामारीका बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल सुहाउँदो विषय नभएको भन्दै अनशन तोड्न आग्रह गरेका हुन् । उनले सबै नागरिकलाई कसरी जोगाउने भनेर सरकारको ध्यान केन्द्रीत भएको अवस्थामा अनशन, सत्याग्रह, धर्ना जस्ता विषय सुहँदो नभएको बताए ।
ज्ञवालीले केसीका धेरै माग पुरा भइसकेका र पूरा गर्न बाँकी रहेका मागका विषयमा छलफल गर्न सकिने बताए । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै केसीले जुम्लामा अनशन थालेका केसी अहिले शिक्षण अस्पतालमा छन् । उनको स्वास्थ्य स्थिति खस्किँदै गएको बताइएको छ । तर सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाको महामारी फैलिएको यो परिस्थितिमा डा केसीलाई अनशन फिर्ता लिन आग्रह गरेका छन् ।


