असोज १९, काठमाडौं । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अन्तरराष्ट्रिय दातृ निकायबाट सहयोग प्राप्त गरेको छ ।
सरकारले जापान, स्विरजरल्यान्ड, जर्मन, विश्व बैंक, एशियाली विकास बैंक, विश्व स्वास्थ्य संगठन, चीन, भारतलगायत देशबाट आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री प्राप्त गरेको छ ।
कुनै देशले आर्थिक सहयोग र कुनैले कोभिड–१९ को परीक्षण गर्ने सामग्री प्रदान गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार कुनै देशले उपलब्ध गराउने आर्थिक सहयोग अर्थ मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालय आइसकेको छ भने कुनै रकम आउन बाँकी रहेको छ । जापान सरकारले अक्सिजन मेसिन, अल्ट्रासाउन्ड मेसिन र छ ओटा एम्बुलेन्स प्रदान गरेको छ ।
यस्तै स्विस सरकारले ६० हजार थाना पीसीआर किट, भारत सरकारले ३० हजार थान पीसीआर किट र २० हजार थान रेम्डिसिभियर खोप प्रदान गरेको छ । भारतले ३० ओटा एम्बुलेन्ससमेत प्रदान गरेको उनले जानकारी दिए । यस्तै जर्मन सरकारले १३ ओटा अस्पतालको फोहर व्यवस्थापनका लागि काम गरिरहेको छ ।
उनले जर्मन सरकारले प्रदान गर्ने भनेको रू.१ अर्ब आउने भने बाँकी रहेको बतााए । अर्थ मन्त्रालयबाट उक्त रकम स्वीकृत भइरहेको उनले जानकारी दिए ।
यसैगरी चीन सरकारले पनि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सहयोग प्रदान गरेको छ । चीन सरकारले व्यक्तिगत सुरक्षा कवच –पीपीई), पीसीआर किट प्रदान गरेको छ । चीन सरकारले रू. २४ करोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
विश्व बैंक र एशियाली विकास बैंकले नेपाललाई समेत सहयोग प्रदान गर्ने भएका छन । दुवै बैंकले रू. २० करोडका दरले प्रदान गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेलले जानकारी दिए । दुवै बैंकले अनुदान र ऋणका लागि उक्त रकम प्रदान गरेका हुन् । अनुदानको रकम यही डिसेम्बरसम्मका लागि खर्च गरिसक्नुपर्ने छ ।
सरकारले गत जेठ महीनामा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि करीब रू.८ अर्ब ३९ करोडको हिसाब सार्वजनिक गरेको थियो । सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग पु¥याउन कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न सहयोग गर्ने व्यक्ति वा संख्याबाट करीब रू.२ अर्ब ७६ करोड ६९ लाख ७ हजार १७७ संकलन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी कविता फुयाालले जानकारी दिइन् ।
यस्तै विश्व स्वास्थ्य संगठन कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको छ । कन्ट्याक्ट ट्रेसिङ, प्रयोगशाला स्थापना, सूचना प्रविधिलगायतमा संगठनले सहयोग गर्दै आइरहेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेलले बताए । संगठनले सात ओटा भेन्टिलेटर र केही पीसीआर रिएजेन्टसमेत प्रदान गरेको छ ।
चीनको वुहान शहरबाट आएका विद्यार्थीमा नेपालमा पहिलोपटक २०७६ साल माघ १० गते संक्रमण देखिएको थियो । अहिलेसम्म ८६ हजार ८२३ संक्रमित फेला परेका छन् भने ६४ हजार ६९ जना संक्रमणबाट निको भएर घर फर्किसकेका छन् । हालसम्म निको हुने दर ७३ दशमलव शून्य ७ प्रतिशत रहेको छ । यसैगरी ५३५ जनाको संक्रमणबाट निधन भइसकेको छ । रासस


