कृषि विकास बैंक लिमिटेडले आफ्ना पूर्व कर्मचारीलाई लक्षित गर्दै सामूहिक स्वास्थ्य उपचार बीमा सुविधा उपलब्ध गराउने भएको छ । बैंकले एक वर्ष अवधिका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँ बीमांक रकम बराबरको सामूहिक स्वास्थ्य उपचार बीमा सुविधा उपलब्ध गराउन लागेको हो ।
बैंकले उक्त सुविधा प्राप्त गर्न योग्य पूर्व कर्मचारीलाई आवश्यक प्रक्रिया पूरा गरी आगामी २०८३ साल कात्तिक १५ गतेभित्र निवेदन पेश गर्न आग्रह गरेको छ । बैंकका अनुसार निवेदन जनशक्ति व्यवस्थापन विभागमा तोकिएको समयभित्र प्राप्त हुने गरी पेश गर्नुपर्नेछ ।
कम्तीमा १५ वर्षसम्म बैंकमा स्थायी, अस्थायी, मासिक पारिश्रमिक वा करार सेवामा काम गरेका तथा ७० वर्ष उमेर ननाघेका पूर्व कर्मचारीले मात्र सामूहिक स्वास्थ्य बीमा सुविधा पाउनेछन् ।
सुविधा लिन चाहने पूर्व कर्मचारीले आफू बसोबास गरेको स्थान वा आफूलाई पायक पर्ने बैंकको नजिकको कार्यालयमा निवेदन बुझाउनुपर्नेछ । निवेदनका साथ बैंकले जारी गरेको पूर्व कर्मचारी परिचयपत्र वा आफू पूर्व कर्मचारी भएको प्रमाणित हुने पत्र तथा नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
बैंकले २०८३ साल भदौ ३ गते पहिलोपटक सूचना प्रकाशित गर्दै योग्य पूर्व कर्मचारीलाई तोकिएको समयसीमाभित्र निवेदन दिन आग्रह गरेको हो ।
यद्यपि, कृषि विकास बैंक कर्मचारी सेवा विनियमावलीको परिच्छेद सातबमोजिम सजाय भई बैंकबाट बर्खास्त भएका पूर्व कर्मचारी भने यस सुविधाबाट वञ्चित हुनेछन् । त्यस्तै, अदालतबाट दोषी ठहर भई सजाय पाएका पूर्व कर्मचारीले पनि सामूहिक स्वास्थ्य उपचार बीमा सुविधा प्राप्त गर्न सक्ने छैनन् ।
बैंकले योग्य पूर्व कर्मचारीलाई आवश्यक कागजातसहित समयमै सम्बन्धित कार्यालयमा निवेदन पेश गर्न आग्रह गरेको छ । बैंकको यो व्यवस्थाले लामो समय सेवा गरी अवकाश पाएका कर्मचारीलाई स्वास्थ्य उपचारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

