Banijya News

तीन महिनापछि प्रदेश २ को प्रदेशसभा बैठक, अनुसन्धान व्यूरोसम्बन्धी विधेयक पारित

1
1.0K Shares

असोज २५, काठमाडौं ।
प्रदेश २ मा तीन महिनापछि बसेको प्रदेशसभा बैठकले प्रदेश अनुसन्धान ब्युरो स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको छ । आईतबार प्रदेश २ को प्रदेशसभा बैकठले अनुसन्धान ब्युरो गठनसम्बन्धी विधेयक संशोधन सहित सर्वसम्मतिले पारित गरेको हो ।
अब प्रदेशप्रमुखले प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा जान्छ । विधेयक उपर सांसदले राखेको प्रश्नको उत्तर आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशभित्र घटेका वा घट्न सक्ने अपराध वा अपराधजन्य जानकारी वा सूचना संकलन गर्ने, गराउने व्यूरोको प्रमुख कार्य हुने बताए ।
बैठकमा महिला, बालबालिका तथा सामाजिक न्याय समिति सभापति जयनुल राइनले स्वास्थ्य सेवासम्बन्धी विधेयक २०७६ दफावार छलफलका लागि सभामा पेस गरेका थिए । त्यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कर तथा गैरकर राजस्व लगाउने र उठाउने कानुनी व्यवस्था गर्न बनेको विधेयक २०७६ छलफलका लागि सभामा पेस गरे ।
बैठक सुरु हुनासाथ नेपाली कांग्रेका सांसदहरुले ६ महिना बित्दा पनि क्वारेन्टिनको व्यवस्था गर्न नसकेको भन्दै सम्बन्धित मन्त्रालयको जवाफ माग्दै सदन अवरुद्ध गरेका थिए । उनीहरुको अवरोधपछि सभामुख यादवले सरकारको ध्यानाकर्षण भएको र आजको बैठकमा शून्य तथा विशेष समयको व्यवस्था नरहेको भन्दै बैठक नियमित गराएका थिए ।
व्यूरोले प्रदेशभित्रको शान्ति सुरक्षा र सुव्यवस्था, प्रदेशको आर्थिक हित, आर्थिक विकास, औद्योगिकरण, व्यापार व्यवसाय प्रवद्र्धनलाई प्रतिकुल असर पार्ने वा पार्न सक्ने सूचना वा जानकारी पनि संकलन गर्नेछ ।
व्यूरोले आफ्नो कर्तव्य पालनाको सिलसिलामा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा प्रतिकुल हुने वा सोलाई खलल पार्ने वा पार्न सक्ने प्रकृतिका सूचना वा जानकारी प्राप्त भएमा सोको जानकारी संघ सरकारलाई समेत दिने विधेयकमा जनाइएको छ ।

1

Scroll to Top