मन्त्रिपरिषद् बैठकले ९ जना सचिवको सरुवा गरेको छ । नवनियुक्त मन्त्रीसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीसहित सबैबाट ठूूलो अपेक्षा रहेको भन्दै समृद्धिको यात्रा तय गर्न ढुक्क भएर कार्यसम्पाद गर्न निर्देश दिएका ओलीले मन्त्रीको अपेक्षा अनुसार सचिबको जिम्मेवारी फेरबदल गरेका हुन् ।
यसरी जिम्मेवारी हेरफेर हुनेमा प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइरालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सो मन्त्रालयका सचिव सूर्य गौतमलाई भने युवा तथा खेलुकद मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्रीका कार्यालयका अर्का सचिव केदार न्यौपाने पनि सरुवामा परेका छन् । उनी उपराष्ट्रपति कार्यालयमा सरुवा हुँदा उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई भने प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ ।
सरुवा हुनेहरूमा सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई भने जल तथा ऊर्जा आयोगमा पठाइएको छ । जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । तत्कालीन सचिव केदारबहादुर अधिकारीको अवकासपछि रिक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी सचिव एकनारायण अर्याललाई दिइएको छ ।


