Banijya News

अनअराइभल भिसा खोलेसँगै पर्यटक नेपाल आउन सुरु, १० जनाको भिसा सहजीकरण गर्न अध्यागमनलाई पत्र

1
1.1K Shares

विदेशी पर्यटक नेपाल आउन सुरु गरेका छन् । सरकारले कात्तिक १ देखि अनअराइभल भिसा खोलेसँगै पर्यटक नेपाल आउन सुरु गरेका हुन् । नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार नेपाल सरकारको शर्तअनुसार पर्यटन नेपाल आउन सुरु गरेका छन् । पर्यटन बोर्ड स्रोतका अनुसार हाल मात्रै १५ जना पर्यटकले नेपाल आउँनको लागि अनुमति माग गरेका छन् ।

सरकारले पदयात्राको लागि आउने पर्यटकसँग कुन क्षेत्रको पदयात्राका लागि आउने हो, एजेन्सीले पर्यटन बोर्डसँग अनुमति लिनुपर्नेछ । एजेन्सीको निवेदनअनुसार पर्यटन बोर्डले अध्यागमन विभागमा भिसा दिनको लागि अनुरोध गरेका १० जना पर्यटकलाई नेपालका घुम्न आउँनको लागि अनुमति दिएको छ । पर्यटन विभागले दुई हिमाल आरोहणका लागि १० जनाको टोलीलाई भिसा सहजीकरण गर्न अध्यागमन विभागलाई पत्र पठाइसकेको छ ।


पर्यटन विभागले उनीहरुको आरोहण दललाई भिसा सहजीकरण गर्न अध्यागमन विभागलाई पत्र पठाइसकेको छ । उनीहरु ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने भएकाले मंगलबार नै नेपाल आउनेछन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार शरद ऋतुका लागि नोभेम्बर १ देखि ६० दिनसम्मका लागि हिमुङ (७१२६ मिटर) हिमाल आरोहणका लागि ४ जना आउनलागेका हुन् ।

ट्याग नेपाल ट्रेकस एण्ड एक्स्पिडिसन प्रालिले विभागसँग हिमुङ हिमाल आरोहणका लागि बेलायत, इटाली, जोर्डन र युएईका चार नागरिकलाई आउन अनुमति दिन विभागमा निवेदन दिएको थियो ।त्यसैगरी अक्टोबर २७ देखि ४५ दिनसम्मका लागि अमादब्लाम (६८१४ मिटर) हिमाल आरोहणका लागि आउन लागेका छन्। अमेरिकाका ५ र कतारका १ जना अमादब्लाम आरोहणका लागि श्री हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्स्पिडिसन प्रालिले पर्यटन विभागमा अनुमति माग गरेको थियो ।


सरकारले हिमाल आरोहण र पदयात्राका लागि तीनवटा शर्त पूरा गरी नेपाल आउन दिएको छ । जसमा नेपाल आउने पर्यटकको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, नेपाल आएर सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने र नेपाल आउनुपूर्व आरोहण वा पदयात्राको लागि हो भने एजेन्सीमार्फत अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । सरकारले पदयात्रा (ट्रेकिङ)को लागि १२ वटा क्षेत्र खुल्ला गरेको छ । जसअनुसार कञ्चनजंघा, एभरेष्ट, लाङटाङ, अन्नपूर्ण सर्किट, मार्दी हिमाल, मनाङ, मुस्ताङ, डोल्पा, हुम्लाका ट्रेकिङ क्षेत्र, मनास्लु, हेलम्बु र रुवीभ्याली क्षेत्र ट्रेकिङका लागि खुल्ला गरिएको छ ।

कोरोन संक्रमणको उच्च प्रभाव भएको समय नै बहराइनका राजपरिवार सदस्यसहितको टोलीलले लोबुचे हिमाल र मनास्लु हिमाल आरोहण गरिसकेका छन् । यो टोली अझै नेपालमै रहेको छ ।

1

Scroll to Top