Banijya News

भारतीय श्रमिकहरूले नेपालबाट दैनिक १५ हजार भारु पठाउन सक्ने

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले श्रमिकले नेपालबाट भारतमा पैसा पठाउन सक्ने नयाँ ब्यावस्था गरेको छ । जस अनुसार अव भारतीय श्रमिकहरूले नेपालबाट दैनिक १५ हजार भारतीय रुपैयाँसम्म नगद पठाउन सक्ने भएका छन् । शुक्रबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०८० मा संशोधन गर्दै नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको बैंक खाताबाट भारत स्थित आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा सोझै रकम पठाउन सक्ने व्यवस्था गरेको हो । जस अनुसार अव भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना भारु एक लाखसम्म पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।

तथापि, यस्तो रकमान्तर आबद्ध विद्युतीय बैंकिङ (इ– बैंकिङ), अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ क्विक रेस्पोन्स कोडमार्फत राष्ट्रिय भुक्तानी स्विच (नेशनल पेमेन्ट स्विच) को माध्यममार्फत पठाउनुपर्नेछ ।
यस्तै, भारतबाट नेपाली श्रमिकले पनि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकले व्यवस्था गरेको इन्डो–नेपाल रेमिटेन्स फ्यासिलिटी स्किमको अतिरिक्त नेपाली नागरिकले सहजै विद्युतीय बैंकिङ, मोबाइल बैंकिङ लगायतको सुविधामार्फत सोझै रकम पठाउन सकिने व्यवस्था गरेको छ । तर, नेपालीको हकमा रकमको सीमा तोकिएको छैन ।

नेपाल र भारत बिच नगद पठाउने इजाजपत्र पाप्त आज भएपनि पछिल्लो समय डिजिटल कारोबारको माध्यममध्ये एक क्यूआरबाट हुने कारोबारमा भुक्तानी ११२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष माघसम्म क्यूआरबाट १७ अर्ब ७६ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएकोमा यो वर्ष माघसम्म बढेर ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै वालेटबाट हुने कारोबारमा उल्लेख्य वृद्धि आएको छ । पछिल्लो १ वर्षको तथ्यांक हेर्ने हो भने पनि विभिन्न वालेटबाट हुने कारोबार करिब ४० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको माघसम्म वालेटबाट २३ अर्ब ८७ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष माघसम्म वालेटबाट १७ अर्ब ११ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

चालु आर्थिक वर्षको माघसम्म मोबाइल बैंकिङबाट २ खर्ब ८९ अर्ब ३८ करोड ७० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ । अघिल्लो वर्ष माघसम्म १ खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको थियो । मोबाइल बैंकिङबाट हुने कारोबार पनि ६८ प्रतिशतले बढेको छ । त्यस्तै इन्टरनेट बैंकिङको प्रयोग पनि बढिरहेको छ । अघिल्लो वर्षसम्म इन्टरनेट बैंकिङबाट १२ अर्ब ४१ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएमा यो वर्ष माघसम्म १३ अर्ब ७८ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

चालु आर्थिक वर्षको माघसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता बढेर २ करोड ३५ लाख ६ हजार २८ पुगेका छन् । अघिल्लो वर्ष माघसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ३६ हजार ५२४ रहेका थिए । माघसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि बढेर १८ लाख ३५ हजार ८४९ पुगेका छन् । अघिल्लो वर्ष माघसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ता १७ लाख ६४ हजार ८०१ रहेका थिए ।

1

Scroll to Top