सन् १९८२ मा स्थापना भएर निरन्तर खाने तेल तथा वनस्पति घ्यू उत्पादनमा सक्रिय पशुपति खाद्य तेल उद्योगले पछिल्लो समय आफ्नो व्यापारमा अभूतपूर्व छलाङ मारेको छ। सन् २०२२ मा करिब ७ अर्ब ७८ करोड रुपैयाँको व्यापार गरेको यस कम्पनीले २०२३ र २०२४ मा खुम्चिएर क्रमशः ३ अर्ब ६६ करोड र २ अर्ब ७ करोडमा सीमित हुनुपरेको थियो। तर, सन् २०२५ मा १० अर्ब ३० करोड रुपैयाँको ऐतिहासिक कारोबार गर्दै कम्पनीले पुरानो लय मात्र समातेन, गत आर्थिक वर्षको पहिलो नौ महिनामै करिब सवा १० अर्ब (१० अर्ब १८ करोड १० लाख) रुपैयाँ बराबरको सानदार व्यापार गर्न सफल भएको छ।
कम्पनीको यो लोभलाग्दो प्रगतिको मुख्य आधार भारततर्फको बढ्दो निर्यात हो, जसले समग्र व्यापारको ८५ प्रतिशत हिस्सा ओगटेको छ। अर्जेन्टिना, युक्रेन, रुस र ब्राजिलजस्ता देशहरूबाट कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी निर्यात गर्दा कम्पनीको पुँजी संरचना पनि मध्यम र सन्तुलित अवस्थामा पुगेको छ। गत आर्थिक वर्षको नौ महिनाको तथ्याङ्क हेर्दा कम्पनीको गियरिङ अनुपात २।० गुणा र कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेट वर्थ २।९ गुणा रहेको देखिन्छ, जसले कम्पनीको बलियो वित्तीय अवस्थालाई प्रतिविम्बित गर्दछ।
सुनसरीको दुहवीमा प्रशोधन प्लान्ट रहेको यस उद्योगले मुख्यतया भटमास, सूर्यमुखी ९सनफ्लावर०, पामोलिन र वनस्पति घ्यूको प्रशोधन गर्ने गर्छ। चार दशकभन्दा लामो इतिहास बोकेको यस कम्पनीले आफ्ना उत्पादनहरूलाई बजारमा ुपोस्टमानु, ुहनुमानु, ुहेल्लोु र ुपशुपतिु जस्ता लोकप्रिय ब्रान्डको नाममा बिक्री वितरण गर्दै आएको छ। स्वदेशी बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म फैलिएको यसको व्यावसायिक सञ्जालले नेपाली उत्पादनको निर्यात सम्भावनालाई समेत उजागर गरेको छ।
यस उद्योगको स्वामित्व संरचनामा मुख्यतया सारदा, राठी र वैद्य परिवारका जम्मा २० जना सदस्यहरूको लगानी रहेको छ, जसमा सबैभन्दा ठूला लगानीकर्ता नन्दकिशोर राठीको १३ प्रतिशत सेयर स्वामित्व छ। श्रीनिवास सारदाको अध्यक्षतामा सञ्चालित यस कम्पनीले आफ्नो व्यापार विस्तार र भविष्यका आर्थिक योजनाहरूलाई सहज बनाउन हालै कुल ८ अर्ब रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ। यसअन्तर्गत दीर्घकालीन कर्जाका लागि ३ अर्ब र अल्पकालीन कर्जाका लागि ५ अर्ब रुपैयाँको रेटिङ सम्पन्न भएको छ।


