नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन शुरू गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आइतबारदेखि सेन्ट्रिमाइन, एमजीट र एमजीट–डीएफ नामका औषधि उत्पादन शुरू गरेको जानकारी दिए ।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको २० प्रकारका औषधिमध्ये तीन प्रकारका औषधि उत्पादन अगाडि बढाउने तयारी गरेको पनेरुले बताए । उनले भने, ‘हामी भोलिदेखि उत्पादन शुरु गर्ने छौ । यो मार्केटिङ लाइसेन्स पाएपछि बजारमा बिक्रीको लागि जाने छ ।’
पनेरुका अनुसार उत्पादन शुरुभएपनि लिमिटेडलाई विक्रीको अधिकार भने छैन् । डिडिएले लाइसेन्स दिने विश्वासमा औषधिको उत्पादन शुरु भएको हो ।
उनका अनुसार तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढ लाख ट्याबलेट उत्पादन गर्ने लक्ष्य छ ।
आर्थिक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले बजेट मार्फत २४ करोड ७८ लाख १२ हजार निकासा गर्ने भनेपनि यो रकम हालसम्म उपलब्ध भएको छैन् । नयाँ महाप्रबन्धक पनेरु सस्थाको बागडो समाल्न आएपछि पनि अर्थ लगायतका मन्त्रालयसँग रकमको लागि वर्ता भएपनि हाल सम्म बजेट निकाशा भएको छैन् ।
महाप्रबन्धक पनेरुले सरकारले दिने भनेको बजेट विनियोजन नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए । पनेरुले आफ्नै संस्थागत पहलमा नयाँ औषधिको उत्पादन गर्ने लक्ष्य साथ अगाडि बढेको दाबी गरे ।“सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप औषधि पनि उत्पादन गर्न सक्छौँ,” पनेरुले भने ।
गुणस्तरीय औषधि उपलब्ध गराउन लिमिटेडले तयार रहेको उल्लेख गर्दै उनले देशका सबै स्थानीय तहसँग सहकार्य गरेर औषधिको बिक्री वितरण गर्ने बताए । महाप्रबन्धक पनेरुका अनुसार कम्पनिले विगतको तुलनामा उत्पादन र बिक्री दुवै बढाएको छ ।
वर्सेनि अर्बौको औषधिजन्य पदार्थको आयातलाई निरूत्साहित तुल्याउनका लागि पनि औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्दै उत्पादन बृद्धि गर्नुपर्ने आजको अवस्था छ । यस्तो अवस्थामा उनले सरकारले तत्कालका लागि लगानी गरेको अवस्थामा उत्पादन गरेर सरकारको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त आफूले गर्ने पनेरुले बताए ।
औषधि लिमिटेडले स्वदेशमै औषधि उत्पादन गरी सरकारलाई बेच्ने तयारी साथ यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएपनि त्यसको कार्यान्वाय भएको छैन् । प्रधानमन्त्रीले औषधि उत्पादनका लागि लिमिटेडको क्षमता विस्तार गर्न अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी गर्न सुझाव दिएपनि सरोकारवाला निकाय एक अर्काको मुख ताक्दै रकम निकाशा गर्न चुक्दा लिमिटेडले लक्ष्य अनुसारको औषधि उत्पादन गर्न सकेको छैन् ।
विसं. २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समय १२० प्रकारका औषधि उत्पादन गर्दथ्यो । तर २०६२ सालमा उत्पादन बन्द भएपछि २०७४ सालमा पुनः सिटामोल उत्पादन गरी लिमिटेड सञ्चालनमा ल्याइएको हो । हाल आइतबारदेखि शुरू तीन प्रकारका सहित लिमिटेडबाट उत्पादन हुने औषधिको संख्या ११ पुगेको हो । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो । औषधि लिमिटेड कोरोना संक्रमणको समयमा नाफामा रहेको थियो । सरकारी लक्ष्य अुनसार उत्पादन गर्ने र सधै घाटा खाने कम्पनीमा औषधि लिमिटेड पनि अग्रस्थानमा छ ।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ८० करोड बराबरको औषधिजन्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षमा २०७९÷८० मा ४४ अर्ब ६४ कारोड बराबरको औषधिजन्य पदार्थ नेपाल भित्रिएको थियो । सबैभन्दा बढी औषधिजन्य पदार्थ भारतबाट आउने गरेको छ । गत वर्ष नेपालबाट एक अर्ब ६० करोडका औषधिजन्य वस्तु निर्यात भएकोमा यो अझ बढदै गएको छ ।


