जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ ।
बैंक अफ जापान (बीओजे)ले मंगलबार प्रमुख ब्याजदर माइनस शून्य दशमलव १ प्रतिशतबाट बढाएर शून्य प्रतिशतदेखि शून्य दशमलव १ प्रतिशतको बीचमा उकालेको छ । उपभोक्ता मूल्यमा आधारित महँगी बढिरहँदा देशभरमा धमाधम तलब वृद्धि भइरहँदा ब्याजदर वृद्धि गरिएको एजेन्सीले जनाएको हो ।
सन् २०१६ मा बैंकले स्थिर बनेको अर्थतन्त्रलाई टेवा दिन ब्याजदर घटाएर शून्यभन्दा तल झारेको थियो । ऋणात्मक ब्याजदर हुने जापान विश्वको एक मात्रै देश थियो । बीओजेले प्रतिफल वक्र नियन्त्रण (वाईसीसी)को नीति पनि त्यागेको छ । यसमा ब्याजदर नियन्त्रण गर्न बीओजेले जापान सरकारले जारी गर्ने ऋणपत्र किन्ने गरेको थियो । यो नीति सन् २०१६ देखि लागू भएको थियो ।
गएको वर्षको अप्रिलमा काजुओ उएदा बीओजे गभर्नर बनेयता नै ब्याजदर बढ्ने अनुमान बढेको थियो । उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति केन्द्रीय बैंकको २ प्रतिशतको लक्ष्यमा आएकै बेलामा ब्याजदर वृद्धिको खबर आएको हो ।


