तपाई ऋण लिने तरखरमा हुनुहुन्छ ? यही यस्तो हो भने अव ऋणीको ऋणको साँवा ब्याज तिर्ने क्षमता समेत परीक्षण हुँने भएको छ । त्यसका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले कर्जा सूचना केन्द्र लिमिटेडलाई परीक्षण गर्ने प्रणाली हस्तान्तरण गरेको हो ।
अब नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण हुने भएको छ । राष्ट्र बैंकसँगको समझदारीमा तयार भएको प्रणालीलाई साइकोमेट्रिक स्कोरिङ सलुसन भनिएको छ । यो प्रणालीबाट विगतमा कर्जा नलिएका र विनाधितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण हुनेछ । यसको कार्यान्वयनसँगै नेपालमा वित्तीय समावेशीकरणको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको राष्ट्र बैंकले जनाएको छ ।
के हो कर्जा सूचना केन्द्र ?
कुनै पनि बैंक वा वित्तीय संस्थाले आफुले स्वीकृत गरेको सम्पूर्ण कर्जा÷सुविधाको विवरण, ९० दिन भन्दा बढी अवधिले भाखा नाघेका सम्पुर्ण कर्जा÷सुविधाको विवरण र १० लाख रुपैयाँ वा सो भन्दा बढीको कर्जा रकम कालोसूचीमा राख्न तोकिएको अवधिभित्र कर्जा सूचना केन्द्रलाई जानकारी गराउनु पर्ने व्यवस्था छ ।
सोही व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले कर्जा सूचना केन्द्रलाई उपलब्ध गराएको विवरण कै आधारमा केन्द्रले अन्य कुनै पनि बैंक वा वित्तीय संस्थाले माग गरेको कर्जा सूचना तयार गरी उपलब्ध गराउँछ । तर, लघुवित वित्तीय संस्थाहरुको हकमा भने रु. ५ लाख वा सो भन्दा बढीको कर्जा रकम भएका ऋणीहरुलाई कालोसूचीमा राख्न पठाउने व्यवस्था छ । नियतवश कर्जा नतिर्ने ऋणीलाई भने जतिसुकै परिमाणको ऋण भए पनि कालोसूचीमा राख्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।


