Banijya News

नागढुंगा सुरुङमार्ग आज उद्घाटन : नेपालको पहिलो व्यवस्थित सुरुङमार्ग सञ्चालनमा

1
1.0K Shares

नेपालको पूर्वाधार विकासमा ऐतिहासिक फड्को मार्दै आज मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा परिचित ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ को औपचारिक उद्घाटन हुँदैछ। नेपाल र जापान सरकारको संयुक्त प्रयास तथा जापानी सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको यस आयोजनाले राजधानी काठमाडौं छिर्ने र बाहिरिने यात्रालाई थप सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ।

आज बिहान ठीक १०स:२५ बजे आयोजित एक विशेष समारोहकाबीच पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस सुरुङमार्गको प्रमुख आतिथ्यमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। उक्त ऐतिहासिक क्षणमा नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जाइकाका अध्यक्षलगायत उच्चपदस्थ अधिकारीहरूको समेत गरिमामय उपस्थिति रहनेछ। उद्घाटन पश्चात् निर्माण पक्षले सम्पूर्ण सुरुङमार्ग औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।

उद्घाटनको लगत्तै मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारीसाधन चलाएर यसको यातायात सञ्चालनको औपचारिक थालनी गर्नेछन्। पहिलो चरणमा भने एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन र अतिआवश्यक सेवाका गाडीहरूलाई मात्र सुरुङमार्गमा प्रवेश दिने व्यवस्था मिलाइएको छ। यस सुरुङमार्गको सञ्चालनले नागढुंगा क्षेत्रको लामो ट्राफिक जाम र जोखिमपूर्ण यात्राको अन्त्य गर्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top