नेपालसहित विश्वभर आज (अक्टोबर १६) ४५औँ विश्व खाद्य दिवस मनाइँदै छ। स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को स्थापना दिवसका अवसरमा सन् १९८१ देखि यो दिवस मनाउने गरिएको हो। यस वर्षको दिवस ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपालमा कृषि विभागले एफएओ र खाद्यका लागि कृषि अभियान लगायतका संस्थाहरूसँगको समन्वयमा दिवस मनाउन विभिन्न कार्यक्रम आयोजना गरेको छ। दिवसको तयारीका लागि कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। विभागका अनुसार खाद्य प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर प्रकाशन र सन्देश प्रसारण लगायतका गतिविधिहरू सञ्चालन गरिनेछन्।
महानिर्देशक सञ्जेलले भोकमरी न्यूनीकरण र पोषण सुधारका अभियानलाई प्रवर्द्धन गर्न यस दिवसले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा जनचेतनामूलक प्रचार–प्रसार, अन्तरक्रिया र लेख–रचना प्रकाशन गरिने जानकारी दिए। मानवजीवनको आधारभूत आवश्यकतामध्ये सबैभन्दा महत्त्वपूर्ण तत्त्व खाद्यान्न भएकाले जीवनको अस्तित्व नै अन्न र पोषणमा टेकेको उनको भनाइ छ।
यद्यपि, नेपालको संविधानले नै नागरिकको मौलिक अधिकारका रूपमा ‘खाद्य अधिकार’ सुनिश्चित गरे पनि लाखौं नेपाली नागरिक अझै पौष्टिक र पर्याप्त खाना नपाउने अवस्थाबाट ग्रस्त छन्। सुखी जीवन, समुन्नत भविष्य र राष्ट्रको समग्र स्वास्थ्य तथा सामाजिक न्यायका लागि ‘खाद्य अधिकार’ सुनिश्चितता अपरिहार्य मानिन्छ। यसर्थ, दिवसले नागरिकको खाद्य अधिकारको महत्त्वलाई पुन:स्थापित गर्दै सबै सरोकारवालाहरूलाई यसको प्रभावकारी कार्यान्वयनका लागि हातेमालो गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।


