जेनजी आन्दोलनका क्रममा भएको दमन र क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आगामी हप्ता बयानका लागि बोलाउने भएको छ। भदौ २३ को आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गरेको भन्दै पीडित परिवार र आन्दोलनका अगुवाहरूले उनीहरूमाथि कारबाहीको माग गर्दै दबाब दिँदै आएका छन्। यसै सन्दर्भमा बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बयान प्रक्रिया अघि बढाउने जानकारी दिनुभएको हो।
आन्दोलन भएको तीन महिना बितिसक्दा पनि शीर्ष नेतृत्वसँग सोधपुछ नभएको भन्दै जनस्तरमा आक्रोश बढिरहेका बेला आयोगले यो कदम चाल्न लागेको हो। यद्यपि, आयोगको साविकको तीन महिने म्याद आगामी पुस ९ गते सकिँदैछ। बाँकी रहेको बयान र अनुसन्धानका कामहरू सम्पन्न गर्न वर्तमान समय पर्याप्त नभएकाले म्याद थपका विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताउनुभएको छ।
शहीद परिवारले ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराए पनि प्रहरीले भने आयोगको प्रतिवेदन आएपछि मात्रै कानुनी प्रक्रिया अगाडि बढाउने अडान राख्दै आएको छ। यस्तो अवस्थामा आयोगले लिने बयान र बुझाउने प्रतिवेदनले आगामी राजनीतिक र कानुनी कारबाहीको दिशा तय गर्ने देखिएको छ।


