नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढीमा बेलिब्रिज निर्माण काम सम्पन्न भएको छ । गत असार २४ गते आएको बाढीले ल्हेन्देखोलामा रहेको पुल बगाउँदा नाका पूर्ण रुपमा बन्द रहेको थियो । गत असार २४ गतेको बाढीले ल्हेन्देखोलाको मितेरी पुल बगाएपछि बन्द रहेको रसुवागढी नाका चिनियाँ पक्षले बेलिब्रिज निर्माण सम्पन्न गरेसँगै जनवरी १ (पुस १७) देखि पुनः सञ्चालनमा आउने भएको छ।
नवनिर्मित बेलिब्रिज अस्थायी प्रकृतिको भएकाले यसबाट ४९ मेट्रिक टनभन्दा बढी तौल र ४.५ मिटरभन्दा बढी उचाइ भएका सवारी साधन आवतजावत गर्न पाउने छैनन्।
नाका बन्द हुँदा र बाढीले भन्सार यार्डका ३५ वटा विद्युतीय गाडी तथा ६ वटा ट्रक बगाउँदा अर्बौँको क्षति हुनुका साथै चालु आर्थिक वर्षको पाँच महिनामा आयात निकै न्यून र निर्यात शून्य रहेको छ।
केरुङमा अझै सयौँ कन्टेनर सामान रोकिएका छन्, तर चिनियाँ पक्षले हाल रसुवाका स्थानीय व्यवसायीलाई मात्र प्रवेश अनुमति दिएकाले अन्य क्षेत्रका व्यवसायीहरू मर्कामा परेका छन्।
नेपाल–चीन व्यापारको ७० प्रतिशत हिस्सा ओगट्ने यो प्रमुख नाका ६ महिनापछि खुल्न लागेकाले आर्थिक संकट झेलिरहेका व्यवसायीहरूमा केही उत्साह थपिएको छ। उक्त नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ८५ अर्ब २३ करोड २३ लाख रुपैयाँको सामान आयात हुँदा २ अर्ब ४ करोड ५२ लाख रुपैयाँको सामान निर्यात भएको थियो ।
त्यस्तै, अघिल्लो आव २०८०/८१ म ६० अर्ब ९१ करोडको आयात र १ अर्ब ७३ करोड रुपैयाँको निर्यात भएको थियो भने आव २०७९/८० मा ३० अर्ब १४ करोडको आयात र १ अर्ब १९ करोडको निर्यात भएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा भने यो नाकाबाट ४७ करोड ५६ लाख रुपैयाँको सामान आयात भएको छ भने निर्यात शून्य रहेको छ ।
बाढीका कारण पुल बगाउनुका साथै भन्सार जाँचपासको क्रममा यार्डमा राखेको सबै सामान बगाएको थियो । जसका कारण आयात न्यून भएको हो । यसअघि चिनियाँ पक्षले कात्तिकको अन्तिम सातामा पुल निर्माण गरिसक्ने अनुमान गरेको भए पनि डेढ महिना ढिला गरी निर्माण सम्पन्न भएको हो ।


