पेट्रोलियम पदार्थको भाउ बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपैयाँ वृद्धि गरिएको जनाएको छ। मूल्य वृद्धिपछि विभिन्न वर्गअनुसार पेट्रोलको मूल्य अधिकतम करिब २०२ रुपैयाँ प्रतिलिटर र डिजेलरमट्टितेलको मूल्य करिब १८२ रुपैयाँ प्रतिलिटरसम्म पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको र भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।
पछिल्लो समय मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएको निगमले जनाएको छ। मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोल, डिजेल तथा एलपी ग्यासमा १३ अर्ब २१ करोड घाटा कायम रहेको निगमले बताएको छ। निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गर्दै असहज परिस्थितिमा सहयोग गर्न आह्वान पनि गरेको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल रहेका छन् । आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ । त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ । यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।


