Banijya News

भारतको नयाँ नियमले चिया–जुट निर्यात प्रभावित, सरकारले के गर्देछ कूटनीतिक पहल ?

1
1.1K Shares

नेपालबाट हुने चिया र जुट निर्यातमा भारत सरकारले लागू गरेको नयाँ व्यवस्थाका कारण अवरोध उत्पन्न भएपछि सरकारले कूटनीतिक पहल सुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक (माघ–चैत) प्रगति विवरणअनुसार भारतीय पक्षसँग औपचारिक संवादमार्फत समस्या समाधानको प्रयास अघि बढाइएको हो।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदी का अनुसार भारतले चियामा लागू गरेको अनिवार्य प्रयोगशाला परीक्षण तथा जुट निर्यातमा सुरु गरिएको ‘काउन्टरभेलिङ ड्युटी’ अनुसन्धानले नेपालको निर्यात व्यापारमा प्रत्यक्ष असर पारेको छ। यी विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारसँग पहल गरिएको उनले जानकारी दिए।

भारत सरकारअन्तर्गतको भारतीय चिया बोर्ड ले मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अब नेपालबाट भारत निर्यात हुने प्रत्येक चियाको कन्साइनमेन्टमा अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि नमुना परीक्षण आकस्मिक वा सीमित रूपमा मात्र गरिन्थ्यो।

नयाँ व्यवस्थाअनुसार भारतीय आयातकर्ताले चिया भारत आइपुग्नुभन्दा अगावै ‘टि काउन्सिल’ को पोर्टलमा चिया आउने मिति, गोदामको स्थान, कन्टेनर विवरण र प्रोफोर्मा इनभ्वाइससहित विस्तृत विवरण बुझाउनुपर्नेछ। त्यसपछि मात्र ‘प्रोभिजनल क्लियरेन्स सर्टिफिकेट’ प्राप्त हुनेछ।

चिया नाकामा आइपुगेपछि २४ घण्टाभित्र ५००–५०० ग्रामका दुई नमुना संकलन गरिन्छ। प्रत्येक नमुनाको परीक्षण शुल्क ११ हजार १ सय २० भारतीय रुपैयाँ (करिब १७,८०० नेपाली रुपैयाँ) लाग्नेछ, जसमा थप जीएसटी शुल्क पनि जोडिन्छ। यसले निर्यात लागत उल्लेख्य रूपमा बढाउने देखिएको छ ।

त्यसैगरी, प्रयोगशाला परीक्षणको नतिजा आउन १४ देखि २० दिन लाग्न सक्ने भएकाले उक्त अवधिभर चिया तोकिएको गोदाममा राख्नुपर्नेछ । यस अवधिमा चिया बेच्न वा पुनः निर्यात गर्न पाइँदैन। यदि परीक्षणमा गुणस्तर असफल भएमा १५ हजार रुपैयाँ तिरेर पुनः परीक्षण गराउन सकिन्छ, तर दोस्रो पटक पनि असफल भएमा चिया नष्ट गर्न वा नेपाल फर्काउनुपर्ने व्यवस्था गरिएको छ ।

यसका अतिरिक्त, भारतमार्फत तेस्रो देशमा पुनः निर्यात हुने चियामा पनि नयाँ सर्त लागू गरिएको छ । ६ महिनाभित्र पुनः निर्यात गर्नुपर्ने र कम्तीमा ५० प्रतिशत मूल्य अभिवृद्धि भएको हुनुपर्ने प्रावधानले व्यापारिक लचकता घटाएको निर्यातकर्ताहरूको गुनासो छ ।
नेपालबाट निर्यात हुने जुटमा भारतले ‘काउन्टरभेलिङ ड्युटी’ अनुसन्धान सुरु गरेको छ। यस विषयमा नेपाल सरकारले आफ्नो आधिकारिक धारणा तयार गरी भारतलाई पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ । साथै ‘सेफगार्ड ड्युटी’ नलगाउन पनि आग्रह गरिएको छ ।

सरकारका अनुसार जुट उद्योग नेपालको परम्परागत निर्यात क्षेत्र भएकाले यसमा लगाइने अतिरिक्त करले उद्योग र रोजगारीमा प्रत्यक्ष असर पर्नेछ। त्यसैले यस विषयमा उच्च तहमा वार्ता गरी समाधान खोज्ने प्रयास भइरहेको छ ।

मन्त्रालयले निर्यात प्रक्रियालाई सहज बनाउन विभिन्न संरचनात्मक सुधारहरू अघि बढाएको छ । हाल हार्डकपीमा आधारित उत्पत्ति प्रमाणपत्र प्रणालीलाई डिजिटल बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग विभाग मार्फत इलेक्ट्रोनिक प्रणालीबाट प्रमाणपत्र जारी गर्ने तयारी पूरा भई चिनियाँ पक्षलाई जानकारी गराइएको छ । यसले व्यापार सहजीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ, विशेषगरी चीनतर्फको निर्यात विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास मन्त्रालयले लिएको छ ।
प्रगति विवरणअनुसार मन्त्रालयले खानी तथा खनिज पदार्थ ऐन नयाँ ढाँचामा ल्याउने तयारी पनि गरिरहेको छ । विधेयकको मस्यौदा तयार भई प्रदेश तथा स्थानीय तहबाट सुझाव लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सुझाव समेटेर कानून मन्त्रालयमा पठाउने तयारी भइरहेको छ । त्यसैगरी, योजना तर्जुमा र कार्यान्वयनलाई प्रविधिमैत्री बनाउँदै ‘एलएमबीआईएस’ प्रणालीमार्फत बजेट तथा योजना प्रविष्ट गरिएको छ। प्रस्तावित आयोजनाहरू ‘प्रोजेक्ट बैंक’ मा समावेश गरिएका छन् भने मध्यकालीन खर्च संरचना राष्ट्रिय योजना आयोग मा पठाइएको छ ।

औद्योगिक पूर्वाधार विकासतर्फ रणनीतिक महत्वका आयोजनाहरू अघि बढाइएको मन्त्रालयको दाबी छ । विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्र र औद्योगिक ग्रामको विकासमा अनुगमन र सुधार भइरहेको छ ।
‘स्टार्टअप फास्ट ट्र्याक’ कार्यक्रममार्फत नवप्रवर्तनशील उद्यमलाई प्रोत्साहन गर्ने योजना पनि अघि सारिएको छ । साथै कम्पनी विधेयक, २०८२ मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको छ । नेपाल–तिब्बत व्यापार सहजीकरण समिति बैठक र नेपाल–बंगलादेश व्यापार वार्ताको तयारी पूरा भएको छ । बहुपक्षीय व्यापारतर्फ विश्व व्यापार संगठन को १३औँ मन्त्रीस्तरीय सम्मेलनमा नेपालले सक्रिय सहभागिता जनाएको छ ।

सरकारले खाद्य सुरक्षा सुनिश्चित गर्न २५ हजार मेट्रिक टन राष्ट्रिय खाद्य भण्डार र ८ हजार मेट्रिक टन सार्क खाद्य बैंकमा भण्डारणको व्यवस्था गरेको छ। साथै १८ जिल्लाका किसानबाट ५० करोडभन्दा बढीको धान खरिद गरिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढी लगानीका ६५४ उद्योग दर्ता भएका छन्। यसमध्ये ४१ अर्ब ७८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । साथै २६५४ ट्रेडमार्क दर्ता गरिएको छ ।

1

Scroll to Top