Banijya News

रवि लामिछानेको भारत भ्रमणपछि परराष्ट्रमन्त्री खनाल दिल्ली जाने

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण सम्पन्न हुने चरणमा पुगेको बेला नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल पनि छिट्टै भारतको औपचारिक भ्रमणमा जाने तयारी भइरहेको छ। दुई देशबीचका विविध द्विपक्षीय विषयमा थप छलफल र सहकार्यलाई अघि बढाउने उद्देश्यले यो भ्रमण महत्वपूर्ण मानिएको छ।

हालै भारतको राजधानी नयाँदिल्लीमा रास्वपा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। करिब एक घण्टासम्म चलेको उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य, पूर्वाधार विकास तथा साझा चासोका अन्य विषयमा विचार आदानप्रदान भएको बताइएको छ। त्यसअघि लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर तथा भारतीय जनता पार्टी (भाजपा) का विभिन्न नेताहरूसँग पनि भेटघाट गरेका थिए।

रास्वपाका सांसद दीपक बोहोराका अनुसार, भेटवार्तामा नेपालका प्राथमिकता र आवश्यकतासँग सम्बन्धित विषयहरूलाई विशेष महत्व दिइएको थियो। भारतले नेपालसँग सम्बन्धित विभिन्न क्षेत्रमा सहकार्य गर्न सकारात्मक रुचि देखाएको र अब ती विषयलाई मन्त्रीस्तरबाट अगाडि बढाउने वातावरण बनेको उनले बताएका छन्।

भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच लामो समयदेखि विचाराधीन रहेका विभिन्न विषयलाई व्यवस्थित रूपमा टुंग्याउन नयाँ कार्यशैली अपनाउन सुझाव दिएको जनाइएको छ। विशेष गरी जलविद्युत् आयोजना, सीमासम्बन्धी विषय तथा विमानस्थल सञ्चालन जस्ता महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखी निश्चित समयसीमा तोकेर काम गर्नुपर्ने धारणा उनले राखेका छन्। यसले वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेका विषयलाई छिटो निष्कर्षमा पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै दुई देशबीचको सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। उनले सामाजिक सञ्जालमार्फत नेपाली भाषामै सन्देश लेख्दै नेपाल र भारतको साझा समृद्धिका लागि मिलेर काम गर्ने इच्छालाई स्वागत गरेका थिए। साथै, निकट भविष्यमा नेपाल भ्रमण गर्ने चाहना पनि व्यक्त गरेका छन्।

यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणको मिति अझै तय भइनसकेको भए पनि आवश्यक कूटनीतिक तयारी सुरु भइसकेको छ। मन्त्रीको सचिवालयका अनुसार काठमाडौंस्थित भारतीय दूतावाससँग निरन्तर समन्वय भइरहेको छ र भ्रमणका विषयमा दुवै पक्षबीच छलफल जारी छ।

जेठ २२ गते सभापति लामिछाने स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री खनाल दिल्ली जाने सम्भावना रहेको बताइएको छ। मन्त्रीस्तरीय भ्रमणमार्फत नेताहरूबीच भएको समझदारीलाई व्यवहारिक कार्यान्वयनतर्फ लैजाने प्रयास गरिने अपेक्षा गरिएको छ। यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै विकास, व्यापार, ऊर्जा र पूर्वाधारका क्षेत्रमा सहकार्य विस्तार गर्न नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

1

Scroll to Top