Banijya News

संस्थागत लगानी विस्तारमा धितोपत्र बोर्डको जोड, पूँजी बजारलाई थप स्थिर र दिगो बनाईदै

1
1.0K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुलुकको पूँजी बजारलाई थप सुदृढ, स्थिर र विश्वासिलो बनाउन संस्थागत लगानीकर्ताको सहभागिता बढाउने पहललाई तीव्र बनाएको छ। यही उद्देश्यका साथ बोर्डले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल बीमा प्राधिकरणका उच्च पदाधिकारीसँग विस्तृत छलफल गर्दै दीर्घकालीन लगानी विस्तारका सम्भावनाबारे विचार–विमर्श गरेको छ।

बोर्डका अनुसार विश्वका विकसित पूँजी बजारमा संस्थागत लगानीकर्ताले बजारको स्थायित्व कायम राख्न, तरलता वृद्धि गर्न तथा जिम्मेवार लगानी संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। नेपालमा पछिल्ला वर्षहरूमा व्यक्तिगत लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढे पनि संस्थागत लगानीको हिस्सा अझै अपेक्षाभन्दा कम रहेको मूल्यांकन बोर्डले गरेको छ। यही अवस्थालाई सुधार गर्न आगामी आर्थिक वर्ष २०८३÷८४ का नीति तथा कार्यक्रममा संस्थागत लगानीलाई विशेष प्राथमिकतामा राखिएको छ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न छलफलमा सहभागी निकायका प्रतिनिधिहरूले हाल पूँजी बजारमा गरेको लगानी, लगानी विस्तारमा देखिएका चुनौती तथा सुधार गर्नुपर्ने नीतिगत पक्षबारे धारणा राखेका थिए। छलफलमा दीर्घकालीन बचत परिचालन, वित्तीय स्रोतको प्रभावकारी उपयोग, बजारको स्थायित्व, उचित मूल्य निर्धारण, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा सुशासन प्रवद्र्धनमा संस्थागत लगानीकर्ताको भूमिका थप प्रभावकारी बनाउनुपर्ने विषयमा विशेष जोड दिइएको थियो।

अध्यक्ष भट्टले संस्थागत लगानीकर्ताले अब परम्परागत लगानी शैलीमा सीमित नबसी बजार विश्लेषणमा आधारित, जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने तथा दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने रणनीतिक लगानी नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले पूँजी बजारमा गुणस्तरीय लगानी विस्तार गर्न आवश्यक कानुनी, नीतिगत र नियामकीय सुधार गर्न धितोपत्र बोर्ड प्रतिबद्ध रहेको बताए।

उनका अनुसार संस्थागत लगानीकर्ताको सक्रिय सहभागिताले बजारमा अत्यधिक उतारचढाव कम गर्न, अफवाहमा आधारित कारोबार घटाउन तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्न महत्वपूर्ण योगदान पुग्नेछ। विशेषगरी सञ्चय कोष, बीमा कम्पनी, सामाजिक सुरक्षा कोष र नागरिक लगानी कोषजस्ता संस्थासँग ठूलो परिमाणमा दीर्घकालीन वित्तीय स्रोत हुने भएकाले उनीहरूको योजनाबद्ध लगानीले पूँजी बजारलाई मजबुत आधार प्रदान गर्न सक्छ।

वित्तीय क्षेत्रका जानकारहरूका अनुसार संस्थागत लगानीकर्ताको उपस्थिति बलियो हुँदा सेयर बजारमा तरलता बढ्नुका साथै कम्पनीहरूको मूल्यांकन पनि तुलनात्मक रूपमा यथार्थपरक हुने गर्छ। यसले नयाँ लगानीकर्तामा विश्वास बढाउने र बजारलाई छोटो अवधिको सट्टाबाजीभन्दा दीर्घकालीन लगानीतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

नेपालको पूँजी बजार विस्तार हुँदै गए पनि संस्थागत लगानीको हिस्सा अझै सीमित भएकाले यस क्षेत्रमा सुधार आवश्यक देखिएको छ। पछिल्लो समय सामूहिक लगानी कोष (म्युचुअल फन्ड), पेन्सन फन्ड तथा बीमा क्षेत्रमार्फत बजारमा लगानी बढाउने विषयमा पनि चासो बढ्दै गएको छ।

धितोपत्र बोर्डले आगामी दिनमा सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै लगानीमैत्री वातावरण निर्माण, नियामकीय प्रक्रिया थप सरल बनाउने तथा संस्थागत लगानीकर्ताको दायरा विस्तार गर्ने नीति अघि बढाउने जनाएको छ। बोर्डको विश्वास छ कि संस्थागत लगानीको विस्तारले नेपालको पूँजी बजारलाई थप सन्तुलित, पारदर्शी, प्रतिस्पर्धी र दीर्घकालीन रूपमा दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ।

1

Scroll to Top