Banijya News

ऋणपत्रको कारोवारमा लगानीकर्ताको अकर्षण बढ्दो, कारोबार ९२७ प्रतिशतले वृद्धि

1
1.0K Shares

नेपालको धितोपत्र बजारमा पछिल्लो समय ऋणपत्र (डेब्ट सेक्युरिटी) प्रति लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । स्थिर प्रतिफल, तुलनात्मक रूपमा कम जोखिम र बैंक निक्षेपभन्दा उच्च ब्याजदरका कारण लगानीकर्ता ऋणपत्रतर्फ आकर्षित भएका हुन् । पछिल्ला वर्षहरूमा लगानीकर्ताले सुरक्षित र निश्चित प्रतिफल दिने लगानीका साधन खोज्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाले जारी गरेका ऋणपत्रमा निक्षेपभन्दा आकर्षक ब्याजदर उपलब्ध भएकाले अनुभवी लगानीकर्ता त्यसतर्फ केन्द्रित भएका हुन् । बजारमा संस्थागत लगानीकर्ता भित्र्याउने नियामक निकायको पहलले आगामी दिनमा ऋणपत्र बजार अझ विस्तार हुने देखिएको छ ।

शेयर कारोबारमा गिरावट देखिएको आर्थिक वर्ष २०८२÷८३ मा दोस्रो बजारमा ऋणपत्र कारोबार भने ९२७.१५ प्रतिशतले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकले देखाएको छ । नेप्सेका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा दोस्रो बजारमा ३ अर्ब ३३ करोड रुपैयाँ बराबरका करिब ३१ लाख कित्ता ऋणपत्र कारोबार भएको थियो। एक वर्षमै यो कारोबार बढेर ३४ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको ३ करोडभन्दा धेरै कित्तामा पुगेको छ । समग्र शेयर बजारमा कारोबार रकम घटिरहेका बेला ऋणपत्रको यस्तो वृद्धि उल्लेखनीय मानिएको छ ।

त्यसै अवधिमा कुल धितोपत्र कारोबार भने घटेको छ । आर्थिक वर्ष २०८१÷८२ मा २१ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजार आर्थिक वर्ष २०८२÷८३ मा घटेर १६ खर्ब १ अर्ब रुपैयाँमा सीमित भएको छ । अर्थात् समग्र कारोबार रकम करिब २४.६१ प्रतिशतले घट्दा पनि ऋणपत्र र उत्पादन तथा प्रशोधन समूहको कारोबार मात्र बढ्न सफल भएको देखिन्छ ।

गत आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डले आइसिएफसी फाइनान्स, प्राइम कमर्सियल बैंक र लक्ष्मी सनराइज बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको थियो। ती संस्थाले क्रमशः ८ प्रतिशत, ६.२५ प्रतिशत र ७ प्रतिशत ब्याजदरका ऋणपत्र जारी गरेका थिए। जबकि सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर करिब ४.१७ प्रतिशत मात्र रहेको थियो। यही ब्याजदरको अन्तरले पनि लगानीकर्तालाई ऋणपत्रतर्फ आकर्षित गरेको विश्लेषण गरिएको छ ।

लगानीकर्ता तिलक कोइरालाका अनुसार नेपालमा ऋणपत्रबारे जनचेतना अझै सीमित छ । शेयरको तुलनामा ऋणपत्र सुरक्षित लगानी भए पनि दोस्रो बजारमा संस्थागत लगानीकर्ता कम हुनु, व्यक्तिगत लगानीकर्ता छिटो नाफा दिने शेयरमा बढी आकर्षित हुनु तथा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य भएका ऋणपत्रप्रति पर्याप्त रुचि नबढ्नु चुनौतीका रूपमा रहेको छ ।

1

Scroll to Top