नेपाल सरकारले विभिन्न सार्वजनिक संस्थान, वित्तीय संस्था र रणनीतिक क्षेत्रमा गरेको कुल लगानी ९ खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा सार्वजनिक गरिएको २०८३ असार मसान्तसम्मको प्रतिवेदनअनुसार सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ नाघेको हो। जसमा सेयर लगानीभन्दा ऋण लगानीको हिस्सा बढी रहेको छ।
कार्यालयको तथ्यांकअनुसार सरकारको सेयर लगानी ४ खर्ब १० अर्ब ५५ करोड रुपैयाँ र ऋण लगानी ५ खर्ब ५५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। यसैगरी, आर्थिक वर्ष २०८२र८३ मा मात्रै सरकारले थप ३४ अर्ब ९२ करोड रुपैयाँ लगानी विस्तार गरेको छ, जसमा सेयर र ऋण दुवै पक्ष समेटिएका छन्।
लगानीको आकार बढ्दै जाँदा सरकारले सोही आर्थिक वर्षमा विभिन्न निकायबाट कुल ५६ अर्ब २० करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। यसरी प्राप्त हुने आम्दानीको प्रमुख स्रोत लाभांश रहेको छ, जसअन्तर्गत विभिन्न संस्थानबाट सरकारले ५० अर्ब ९२ करोड रुपैयाँभन्दा बढी लाभांश मात्रै प्राप्त गरेको छ।
यसका साथै लगानीको साँवा फिर्ता र ब्याज तथा प्रतिबद्धता शुल्कबाट समेत सरकारलाई करोडौँ आम्दानी भएको छ। यद्यपि, ठूलो लगानी भए पनि कतिपय संस्थानले अपेक्षित प्रतिफल दिन नसकेको भन्दै सरकारी लगानीको व्यवस्थापन र प्रभावकारितामाथि सुधार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।


