लगानी प्रक्रिया छिटो, सरल र लगानीमैत्री बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्यसहित लगानी बोर्ड नेपालले एकल विन्दु सेवा केन्द्र सञ्चालनको तयारी अघि बढाएको छ । विभिन्न सरकारी निकायमा धाउनुपर्ने झन्झट अन्त्य गर्दै एउटै थलोबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित बोर्डले आवश्यक गृहकार्य सुरु गरेको हो ।
लगानी बोर्डले एकल विन्दु सेवा केन्द्रको समन्वय गर्ने जिम्मेवारी सहसचिव हेमराज तामाङलाई तोकेको छ । केन्द्रमार्फत सेवा प्रवाह प्रभावकारी बनाउन १४ वटा सरकारी निकायले अख्तयारीसहित फोकल पर्सनसमेत तोकेका छन् । ती फोकल पर्सनहरूले लगानी बोर्ड र आ–आफ्ना मन्त्रालय तथा विभागबीच सिंगल प्वाइन्ट अफ कन्ट्याक्टको भूमिका निर्वाह गर्नेछन् ।
एकल विन्दु सेवा केन्द्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग, आन्तरिक राजस्व विभाग, उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, भन्सार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, विद्युत विकास विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल दूरसञ्चार प्राधिकरण सहभागी रहनेछन् । आवश्यकताअनुसार अन्य निकायले पनि फोकल पर्सन तोक्न सक्ने बोर्डले जनाएको छ ।
बोर्डको कार्यालयले सम्बन्धित मन्त्रालय र निकायसँगको समन्वयमा एकल विन्दु सेवा केन्द्र सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको छ । तत्कालका लागि फोकल पर्सनमार्फत समन्वय गर्दै लगानीसम्बन्धी सेवा प्रवाह अघि बढाइनेछ ।
फोकल पर्सनहरूसँगको छलफलमा ज्ञवालीले राष्ट्रिय लगानी लक्ष्य हासिल गर्न र सुशासन कायम गर्न सबै निकायले अपनत्व लिएर काम गर्नुपर्ने छ । विज्ञ रामकृष्ण सापकोटाले धेरै निकायमा पुग्नुपर्ने अवस्थाका कारण लगानीकर्ताले भोग्दै आएको झन्झट एकल विन्दु सेवा केन्द्रले अन्त्य गर्ने बताए । उनका अनुसार यसले निर्णय प्रक्रिया छिटो बनाउँदै लगानीसम्बन्धी कामलाई चुस्त र प्रभावकारी बनाउनेछ ।
सहसचिव तामाङका अनुसार फोकल पर्सनहरूले सार्वजनिक–निजी साझेदारी ऐन २०७५, लगानीसम्बन्धी नियमावली २०७७ तथा लगानी बोर्डको रणनीति र व्यावसायिक योजनाअनुसार सेवा प्रवाहमा सहजीकरण गर्नेछन् । साथै, बोर्डबाट प्राप्त फाइल तथा पत्रमा समयमै राय–प्रतिक्रिया दिने, संस्थागत समन्वयकर्ताको भूमिका निभाउने र लगानी प्रक्रिया सहज बनाउने जिम्मेवारी उनीहरूको हुनेछ ।


