नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै छ महिनापछि बिहीबार स्वदेश फर्किंदै छन्। लामो समय विदेशमा उपचार गराएर नेपाल फर्किन लागेका देउवालाई कांग्रेसको संस्थापनइतर समूहले विशेष स्वागत गर्ने तयारी गरेको छ।
देउवा थाई एयरको उडानबाट बिहीबार मध्याह्न साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्। देउवाको स्वागतका लागि संस्थापनइतर समूहले विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहितको कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। राष्ट्रिय भेलाको तयारीका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार देउवालाई परम्परागत बाजागाजा र सांस्कृतिक प्रस्तुतीसहित स्वागत गरिनेछ। लामो समयपछि देउवा नेपाल फर्किन लागेकाले स्वागतलाई विशेष बनाउने तयारी गरिएको इतर समूहका नेताहरूले बताएका छन्। देउवा स्वदेश फर्किएसँगै कांग्रेसभित्र पछिल्लो समय चलिरहेको आन्तरिक गतिविधि र समूहगत राजनीतिक बहसले समेत थप गति लिने अपेक्षा गरिएको छ।
उपचारका लागि लामो समय विदेशमा
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएपछि देउवा उपचारका लागि विदेश गएका थिए। उनी गत १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए। सिंगापुरमा उपचार गराएपछि थप उपचारका लागि उनी ७ चैत २०८२ मा हङकङ पुगेका थिए। त्यसयता उनी लामो समय विदेशमै रहेका थिए। उपचारपछि स्वास्थ्यमा सुधार आएपछि उनी बिहीबार नेपाल फर्किन लागेका हुन्। देउवा स्वदेश फर्किएपछि शुक्रबार कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुने बताइएको छ।
पाँच हजार नेता–कार्यकर्ता जुटाउने तयारी
संस्थापनइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। तीन दिनसम्म सञ्चालन हुने भनिएको भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ता सहभागी हुने आयोजकको अनुमान छ। भेलाको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार उद्घाटन कार्यक्रमसहित तीन दिनसम्म विभिन्न विषयमा छलफल र अन्तरक्रिया हुनेछन्। कांग्रेसको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक विषय तथा पार्टीभित्रको आगामी रणनीतिबारे भेलामा छलफल हुने बताइएको छ।
देउवा स्वयं पूर्वसभापति रहेकाले उनको सहभागितालाई इतर समूहले विशेष महत्त्व दिएको छ। लामो समयपछि स्वदेश फर्किएका देउवा राष्ट्रिय भेलामा सहभागी भएपछि पार्टीभित्रको शक्ति सन्तुलन, संगठन निर्माण र आगामी राजनीतिक दिशाबारे हुने छलफलमा उनको उपस्थितिले थप अर्थ राख्ने नेताहरूको बुझाइ छ।
स्वदेश फर्किनुअघि नै देउवाको स्वागतको तयारीदेखि राष्ट्रिय भेलाको व्यवस्थापनसम्म इतर समूह सक्रिय भएको छ। विमानस्थलको स्वागत कार्यक्रम र त्यसपछिको राष्ट्रिय भेलालाई समूहले शक्ति प्रदर्शनका रूपमा नभई संगठनात्मक एकता र राजनीतिक छलफललाई अघि बढाउने अवसरका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।
करिब छ महिनापछि नेपाल फर्किन लागेका देउवाको अबको राजनीतिक सक्रियता भने कांग्रेसभित्र चासोको विषय बनेको छ। विशेषगरी उपचारपछि उनी पार्टीका गतिविधिमा कसरी जोडिन्छन् र संस्थापनइतर समूहको राष्ट्रिय भेलामा उनको उपस्थितिले आगामी राजनीतिक बहसलाई कस्तो दिशा दिन्छ भन्ने विषयमा कांग्रेस वृत्तमा चासो बढेको छ।

