Banijya News

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु, ७ हजार २५५ प्रतिनिधि सहभागी हुँदै

1
1.0K Shares

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ। पार्टीको नेतृत्वमा पुग्ने पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरू मतदानमा सहभागी हुँदैछन्।

मतदानका लागि प्रतिनिधिहरू बिहानैदेखि निर्धारित मतदानस्थलमा लाइनमा लागेका छन्। निर्वाचन समितिले आज अपराह्न ३ बजेसम्म मतदान सञ्चालन गर्ने कार्यतालिका बनाएको छ। मतदान सम्पन्न भएपछि आवश्यक प्रक्रिया पूरा गरी आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ।

यसअघि बिहीबारका लागि तय गरिएको मतदान मतपत्र छपाइमा भएको ढिलाइ, खराब मौसम तथा प्राविधिक समस्याका कारण स्थगित गरी आज बिहानका लागि सारिएको थियो। साँझ मतदान सुरु गर्दा प्रक्रिया रातिसम्म लम्बिन सक्ने र प्रतिनिधिहरूलाई असुविधा हुने देखिएपछि बिहानैदेखि मतदान गराउने निर्णय गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

निर्वाचन समितिका अनुसार यस महाधिवेशनमा कुल ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्। उनीहरूले पार्टीको सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि उम्मेदवार चयन गर्न आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

विभिन्न स्थानमा मतदान केन्द्र निर्धारण

प्रतिनिधिहरूलाई मतदानमा सहजता प्रदान गर्न निर्वाचन समितिले प्रदेश तथा समूहअनुसार छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरेको छ। राष्ट्रिय सभा गृहको मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश तथा तराई–मधेश समूहका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ। हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने तराई–मधेश हलमा मधेश प्रदेशका प्रतिनिधिले मत खसाल्नेछन्।

पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ।

परिचयपत्र रुजु गरेपछि मात्रै मतदान

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गर्ने प्रतिनिधिहरूको परिचयपत्र र मतदाता नामावली रुजु गरेपछि मात्रै मतदान गर्न पाउने व्यवस्था गरेको छ। निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजान पनि रोक लगाइएको छ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतपत्रको संख्या धेरै भएकाले छपाइमा समय लागेको हो। मतपत्रमा हस्ताक्षर गर्ने कार्यका लागि ३२ जना वरिष्ठ अधिवक्ता खटाइएको उनले बताए। उनका अनुसार मतदानका लागि आवश्यक तयारी पूरा भइसकेको छ।

मतदान सम्पन्न भएपछि मतपेटिकाको सुरक्षित व्यवस्थापन गरी मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। यस निर्वाचनबाट चयन हुने नयाँ नेतृत्वले आगामी कार्यकालमा नेपाली कांग्रेसको संगठन सञ्चालन तथा पार्टीका राजनीतिक गतिविधिको नेतृत्व गर्नेछ।

1

Scroll to Top