Banijya News

जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाइने

1
1.3K Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने बताएका छन् ।

बोआओ फोरमअन्तर्गतको जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसम्बन्धी सत्रमा उनले जलवायु परिवर्तनको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको जानकारी दिए । जलवायु उत्पन्न स्वास्थ्य संकटको सामना गर्न तयारीका लागि नेपालको प्रयासबारे जानकारी गराउँदै उनले यसलाई साझा मुद्दा बनाउन नेपालले पहल गरिरहने उल्लेख गरे ।

यसैगरी फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रूपान्तरण गर्ने रणनीतिअन्तर्गत सक्रियरूपमा काम गरिरहेको बताए । यसका माध्यमबाट नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन काम भइरहेको भन्दै उनले एसियाली देशहरूसँग सहकार्यका लागि तयार रहेको बताए । आधुनिक प्रविधिले लागत घटाउन, निदान, स्वास्थ्य प्रणाली व्यवस्थापन र जोखिम नक्साङ्कनमा शुद्धता सुधार गर्न सक्ने उनको भनाइ थियो । मन्त्री पौडेलले स्वास्थ्यको पहुँचबाहिर रहेका नागरिकलाई ध्यानमा राखेर काम गरिरहेको बताए ।

चीन भ्रमणका क्रममा मन्त्री पौडेलले त्यहाँको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (एनडीसीपीए) का निर्देशक महामहिम शेन होङबिनसँग भेट गर्दै स्वास्थ्य सहकार्यका लागि आग्रह गरेका थिए । नेपाली राजदूत डा. कृष्णप्रसाद ओली समेत सहभागी द्विपक्षीय भेटमा हेटौँडाको भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोग, सरकारी अस्पतालहरूमा न्युरो उपचार केन्द्रलगायतका विषयमा छलफल भएको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ । मन्त्री पौडेलले बेइजिङमा बसोबास गर्ने नेपाली समुदायसँग पनि भेट गर्दै चीनमा प्राप्त ज्ञान र सीपबाट राष्ट्रको लागि योगदान पुर्याउन आग्रह गरेका छन् ।

1

Scroll to Top