Banijya News

बीमा बोर्डका डा.काफ्लेले दिए राजीनामा

1
1.1K Shares

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य बीमा कार्यक्रम संकटमा परिरहेका बेला डा. काफ्लेको पदबाट राजीनामा आएको हो। स्वास्थ्य बीमा कार्यक्रम अहिले गम्भीर संकटमा रहेको, अस्पतालहरूले बीमामार्फत उपचार रोक्न थालेको र बीमित नागरिक सेवा पाउन असहज भएका बेला आएको यो राजीनामाले स्वास्थ्य बीमा प्रणालीको नेतृत्व र उत्तरदायित्वमाथि प्रश्न उठाएको छ ।

तर, यही महासंकटको घडीमा संस्थालाई निकास दिनुपर्ने जिम्मेवारी बोकेका डा. काफ्लेले सुटुक्क राजीनामा बुझाएर ‘मैदान’ छोडेका छन् । अस्पतालहरूले अर्बौँ रुपैयाँ भुक्तानी नपाएको भन्दै सेवा ठप्प पार्दा बोर्डले सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने साटो पद छोड्नुले उनको नेतृत्व क्षमतामाथि मात्र होइन, व्यावसायिक नैतिकतामाथि पनि प्रश्न उठाएको छ।

एउटा सार्वजनिक ओहोदामा बसेको व्यक्तिले संस्था संकटमा परेकाबेला राजीनामा दिनुलाई नैतिक कदम मानिँदैन । यस्तो समयमा पद छोड्नुले लाखौँ बीमित नागरिकको स्वास्थ्य सुरक्षालाई अलपत्र पार्नु, संस्था संकटमा पर्दा समाधान खोज्नुको सट्टा व्यक्तिगत सहजता रोज्नु, र कार्यक्रम असफल हुनुको दोषबाट भाग्न खोजेको देखिन्छ।

स्वास्थ्य बीमा कार्यक्रम हाल ठूलो वित्तीय चुनौतीमा छ । अस्पतालहरूलाई समयमै भुक्तानी नपुगेको कारण सरकारी अस्पतालहरूले बीमा सेवामा रोक लगाउन थालेका छन् भने निजी अस्पतालहरूले समेत बीमा उपचारमा ढिलाइ गर्न थालेका छन् । यसले आम नागरिकलाई उपचारमा प्रत्यक्ष समस्या पु¥याएको छ र बीमितहरूले आफ्नो स्वास्थ्य अधिकार पाउन कठिनाइ भोगिरहेका छन्।

अर्थ मन्त्रालय र सम्बन्धित निकायहरूले पनि नियमित भुक्तानी र नीति कार्यान्वयनमा ढिलाइ गरेको कारण कार्यक्रम संकटमा पुगेको छ । संकटको यो अवस्था बाबजूद, बोर्डको नेतृत्वले सक्रिय भूमिका खेल्नुपथ्र्यो। स्वास्थ्य बीमा जस्तो संवेदनशील सामाजिक सुरक्षा कार्यक्रममा वित्तीय स्थायित्व, प्रभावकारी समन्वय र स्पष्ट नीति आवश्यक छ । यस्ता समस्याहरू समाधान नभए, भविष्यमा बीमित नागरिकलाई उपचार सुविधा नपुग्ने जोखिम अझ बढ्ने देखिन्छ ।

1

Scroll to Top