सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित आफ्ना दुई होनहार ‘सिटिजन लिडर्स’ लाई एक भव्य समारोहका बीच बधाई तथा सम्मान अर्पण गरेको छ। कम्पनीको थापाथलीस्थित केन्द्रीय कार्यालयमा आयोजित ‘शुभकामना आदान–प्रदान कार्यक्रम’ मा भक्तपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय सांसद रुकेश रञ्जित र सोही पार्टीकी समानुपातिक सांसद माननीय प्रमिला कुलुजुलाई सम्मान गरिएको हो। करिब ६० जना अभिकर्ता र उच्च व्यवस्थापनको उपस्थिति रहेको उक्त कार्यक्रममा सांसदहरूलाई पुष्पगुच्छा र सम्मानपत्र प्रदान गर्दै उनीहरूको सफल कार्यकालको कामना गरियो ।
सम्मान ग्रहण गर्दै माननीय प्रमिला कुलुजुले सिटिजन लाइफसँगको व्यावसायिक यात्राले नै आफ्नो व्यक्तित्व विकास र नेतृत्व क्षमतामा निखार ल्याएको बताउनुभयो। सोही अनुभव र सिकाइले आफूलाई आज नीति निर्माणको तहसम्म पुर्याउन मार्गदर्शन गरेको भन्दै उनले कम्पनी परिवारप्रति कृतज्ञता व्यक्त गरिन । अर्का नवनिर्वाचित सांसद रुकेश रञ्जितले बीमा क्षेत्रमा रहेका कर प्रणाली (ट्याक्स ब्र्याकेट) का समस्या र वर्तमान चुनौतीहरूलाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाए । उनले बीमा क्षेत्रको सुदृढीकरणका लागि सिटिजन लाइफका विज्ञहरूसँग सहकार्य गर्दै जनताको आवाज बुलन्द पार्ने अठोट व्यक्त गरे l
कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (CEO) पोषक राज पौडेलले आफ्ना अभिकर्तालाई सुरुदेखि नै ‘सिटिजन लिडर्स’ भनेर सम्बोधन गर्ने गरिएको र आज उनीहरू माननीय सांसद बन्दा सो शब्दले वास्तविक अर्थमा न्याय पाएको बताए । त्यस्तै, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले आफ्ना प्रतिनिधिहरू नीति निर्माताको तहमा पुग्नु कम्पनीको उत्कृष्ट नेतृत्व विकासको उदाहरण भएको उल्लेख गरे। यस उपलब्धिले बीमा क्षेत्रको नीतिगत सुधारमा सहयोग पुग्ने र आगामी पुस्तालाई यो क्षेत्रमा रहेका असीमित सम्भावनाहरूतर्फ आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ।


