चिनियाँ कम्पनी बाईदूको स्वायत्त राइड–हेलिङ सेवा अपोलो गोले चीनभरि लगभग २० शहरहरूमा आफ्नो रोबोट्याक्सी सञ्चालन विस्तार गरेको छ।
गत वर्षको नोभेम्बरको अन्त्यदेखि, अपोलो गोले क्रमशः ५ करोड चिनियाँ युआन (७.२ मिलियन डलर) र ७ करोड चिनियाँ युआनको लगानीसहित धेरै दर्ता गरिएका परियोजनाहरू मार्फत ग्वाङ्डोङ प्रान्तको जियाङमेन र डोङगुआन लगायतका शहरहरूमा परीक्षण सुरु गरेको स्थानीय मिडिया आउटलेट लान्जिंजरले रिपोर्ट गरेको छ।
रिपोर्ट अनुसार, अपोलो गोले जियाङमेनमा कम्तिमा ९० ओटा र डोङगुआनमा १,हजार ओटा सवारी साधन तैनाथ गर्ने योजना बनाएको छ।
व्यवसायले ग्वाङ्डोङको फोशानमा आफ्नो दक्षिण चीन सञ्चालन मुख्यालय स्थापना गर्ने पनि योजना बनाएको छ, जसको कुल लगानी १८ मिलियन चिनियाँ युआन हुने अनुमान गरिएको सीएनइभीपोस्टले भनेको छ।
ग्वाङ्डोङ–हङकङ–मकाओ ग्रेटर बे एरियामा पहिले नै वीराइड, पोनी एआई र रुकी मोबिलिटी लगायत धेरै रोबोट्याक्सी कम्पनीहरू रहेको रिपोर्टले उल्लेख गरेको छ।
सन् २०२५ को तेस्रो त्रैमासिकमा, अपोलो गोले ३.१ मिलियन पूर्ण स्वायत्त ड्राइभिङ सेवा अर्डरहरू डेलिभर गर्यो, जसले गर्दा यसको वार्षिक वृद्धि दर अघिल्लो त्रैमासिकमा १ सय ४८ प्रतिशतबाट २ सय १२ प्रतिशत पुग्यो।


