नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनवरी २२ देखि २५ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थाई अन्तर्राष्ट्रिय यात्रा मेला (टिआईटिएफ) २०२६ मा नेपालको पर्यटन प्रवर्द्धन गर्ने भएको छ । पर्यटन बोर्डका अनुसार, क्वीन सिरिकिट राष्ट्रिय सम्मेलन केन्द्रमा ११ वटा नेपाली ट्राभल तथा ट्रेकिङ कम्पनीहरूको सहभागितामा नेपालका प्रमुख पर्यटन गन्तव्य र अनुभवहरू प्रदर्शन गरिँदैछ ।
मेलामा ट्रेकिङ, साहसिक पर्यटन, सांस्कृतिक भ्रमण तथा तीर्थयात्रा सम्बन्धी विविध पर्यटन उत्पादनहरू प्रस्तुत गरिएको छ । मेलामा सहभागी नेपाली कम्पनीहरूमा इमेज ट्राभल एण्ड एक्सपिडिसन, नेपाल हाइकिङ टिम, ब्रोड एडभेन्चर, नेपाल सोसल ट्रेक्स एण्ड एक्सपिडिसन, पर्ल होलिडेज, कोर ट्रेक, ट्रेकिङ गाइड टिम एडभेन्चर, नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, गो नेपाल ट्राभल टुर्स एण्ड ट्रेकिङ, माउन्टेन ग्रेट एडभेन्चर तथा डेस्टिनागो टुर्स एण्ड ट्राभल्स रहेका छन् ।
एनटीबीले दक्षिणपूर्वी एसियामा थाइल्याण्डलाई नेपालको प्रमुख पर्यटन स्रोत बजारमध्ये एकका रूपमा लिँदै आएको जनाएको छ । दुई देशबीचको नियमित हवाई सम्पर्कले पर्यटन प्रवद्र्धनमा थप सहयोग पुर्याइरहेको बोर्डको भनाइ छ । हाल नेपाल–थाइल्याण्डबीच दैनिक प्रत्यक्ष उडानसहित हप्तामा २० भन्दा बढी उडान सञ्चालन भइरहेका छन् ।
टिआईटिएफ २०२६ मा सहभागितामार्फत एनटीबीले पर्यटन साझेदारीलाई मजबुत बनाउने, जनस्तरमा सम्बन्ध विस्तार गर्ने तथा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र भगवान बुद्धको जन्मस्थल लुम्बिनी जस्ता आध्यात्मिक गन्तव्यहरूलाई थाइल्याण्डका पर्यटकमाझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । चार दिने यो यात्रा मेलामा क्षेत्रीय पर्यटन बोर्डहरू, ट्राभल कम्पनीहरू र पर्यटन उद्योगसँग सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको छ ।


