बेलायती सञ्चारमाध्यम बीबीसी वल्र्ड सर्भिसले नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा सार्वजनिक गरेको एउटा डकुमेन्ट्रीले नेपालमा तरंग ल्याइदिएको छ । ४१ मिनेटको उक्त डकुमेन्ट्रीमा दुई दिनको घटनाक्रमका दुर्लभ फुटेजहरुसँगै केही नयाँ सूचनाहरु संग्रहित छन् ।
भदौ २३ गतेको आन्दोलनमा १९ जना युवाहरुको गोली लागेर निधन भएको थियो । गोली चल्नुभन्दा अगाडि प्रदर्शनकारीले संसद भवनमा आक्रमण गरेको र प्रहरीमाथि ढुंगामुढा गरेको बिबिसीको डकुमेन्ट्रीमा देखिन्छ । गोली लागेर मारिएका मध्ये १७ वर्षिय श्रीयम चौलागार्इंलाई डकुमेन्ट्रीमा फोकस गरिएको छ । श्रीयमका पिता र मातासँग पनि कुराकानी गरिएको छ ।
श्रीयम त्यसदिन आन्दोलनमा सहभागी भए पनि अग्रपंतिमा थिएनन् । मुठभुडबाट छलिन खोज्दा नै उनी गोली लागेर ढलेको बिबिसीको रिपोर्टले देखाएको छ । गोली लाग्नुभन्दा ठिक अगाडिको श्रीयमको भिडिओ फुटेजमा पनि डकुमेन्ट्रीमा छ ।
प्रदर्शनकारीहरु प्रहरीको ब्यारिकेट तोडेर संसद भवनतर्फ गएका थिए । संसद भवनको पर्खाल भत्काउने र गेटमा आगो लगाउने गरेपछि प्रहरीले टियर ग्यास र पानीको फोहोरा हानेको बीबीसीको डकुमेन्ट्रीमा देखाइएको छ । तर, प्रदर्शनकारीहरु पछि नहटेपछि गोली चलेको थियो । प्रदर्शनको अग्रपंतिमा नरहेका केही युवाहरु पनि गोली लागेर ढलेका थिए ।
बीबीसीको रिपोर्टलाई लिएर नेपाल प्रहरीले भने असहमति जनाएको छ । रिपोर्टमा उल्लेखित प्रहरी कलसाइन संवाद आधिकारिक नभएको केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी अविनारायण काफ्लेले बताए । उनले भने, ‘डकुमेन्ट्रीमै ती संवाद विभिन्न फुटेजका आधारमा संकलन गरेको भनिसकेपछि त्यसको आधिकारिकता छैन भन्ने बुझिन्छ’, उनले भने, ‘प्रहरीका कुरा हामीसँगै सोधे हुन्छ, त्यस्तो दुःख गरेर संकलन गर्नुपर्दैन ।’
संगठनले पत्रकार सम्मेलन गरेर उक्त घटनाबारे सम्पूर्ण उपलब्ध तथ्य सार्वजनिक गरिसकेको अवस्थामा आफूखुशी कुनै रिपोर्ट वा डकुमेन्ट्री बनाइएकोप्रति टिप्पणी आवश्यक नरहेको उनले बताए ।
‘त्यसदिन जे–जे भएको हो, त्यसबारे हाम्रो संगठनले स्पष्ट पारिसकेको छ, थप केही जानकारी चाहिए हामी वास्तविक तथ्य दिन हरदम तयार छौं,’ उनले भने ।


