फिफा विश्वकपकै इतिहासको १०००औँ खेलमा एशियाली शक्ति राष्ट्र जापानले अफ्रिकन मुलुक ट्युनिसियामाथि ४–० को शानदार जित हासिल गरेको छ । मेक्सिकोको मोन्टेरे स्टेडियममा आज भएको समूह एफको उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जापानले नकआउट चरणको यात्रा निकै बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ ।
जापानले खेलको सुरुमै गोल गरेपछि ट्युनिसियामाथि खेलमा हावी भएको थियो । खेल सुरु भएको चौथो मिनेटमै दाइची कामादाले केइतो नाकामुराको पासमा गोल गर्दै जापानलाई १–० को सुरुवाती अग्रता दिलाए । खेलभरि नीलो जर्सीमा उत्रिएका जापानी खेलाडीहरूको गति र तालमेल अगाडि ट्युनिसियाको रक्षापंक्ति निरीह देखिएको थियो । खेलको ३१औँ मिनेटमा स्टार फरवार्ड अयासे उएदाले गोल गर्दै पहिलो हाफमै जापानको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा पनि जापानको आक्रमण कायमै रह्यो । ६९औँ मिनेटमा जुन्या इतोले एएदाको पासमा टोलीका लागि तेस्रो गोल थपे । खेल सकिन लाग्दा ८३औँ मिनेटमा उएदाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जापानका लागि ४–० को फराकिलो जित सुनिश्चित गरे । उएदाले काइसु सानोको पासमा गोल गरेका थिए ।
उएदा यस विश्वकपमा एकै खेलमा दुई गोल गर्ने र एक असिस्ट गर्ने दोस्रो खेलाडी बने । यसअघि नेदरल्यान्ड्सका कोडी गाक्पोले स्वीडेनविरुद्ध दुई गोल र एक असिस्ट गरेका थिए ।
जापानले विश्वकपमा ट्युनिसियालाई पराजित गरेको यो दोस्रो पटक हो । यसअघि सन् २००२ मा घरेलु मैदानमा सम्पन्न विश्वकपमा जापानले ट्युनिसियालाई २–० ले पराजित गरेको थियो ।
उक्त खेल फिफा विश्वकप इतिहासकै १०००औं खेल भएकाले फुटबल इतिहासमा यसको छुट्टै महत्व रहेको छ । आफ्नो पहिलो खेलमा बलियो नेदरल्याण्ड्सलाई २–२ को बराबरीमा रोकेको जापानले आजको जितसँगै २ खेलबाट ४ अंक जोडेको छ र समूह एफको शीर्ष स्थानमा सुरक्षित छ । जापानले अब समूह एफको अन्तिम खेल स्वीडेनसँग खेल्नेछ ।
पहिलो खेलमा स्विडेनसँग ५–१ को लज्जास्पद हार बेहोरेको ट्युनिसियाको यो लगातार दोस्रो हार हो । लगातार दुई खेलमा ९ गोल खाएको ट्युनिसिया समूह चरणबाटै बाहिरिएको छ । ट्युनिसियाले अब नेदरल्यान्ड्ससँग समूहको अन्तिम खेल खेल्नेछ । यी दुई खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।


