Banijya News

चालु एघार महिनामा ३० करोड रुपैयाँ बराबरका मोबाइल चार्जर आयात

1
1.1K Shares

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म नेपालले विभिन्न देशबाट ३० करोड २९ लाख रुपैयाँ बराबरका मोबाइल, फोन र चार्जर आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा ३९ लाख ४२ हजार ८६६ थान मोबाइल चार्जर तथा फोन भित्रिएको छ।

मोबाइल चार्जर र फोन भारत, चीन, अष्ट्रेलिया, क्यानडा, साइप्रस, फ्रान्स, जर्मनी, हङकङ, इजरायल, इटली, जापान, कोरिया, पोल्याण्ड, पोर्चुगल लगायतका मुलुकहरूबाट नेपाल भित्रिएका हुन्।

चार्जर आयातबाट नेपाल सरकारले ९४ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। चार्जर आपूर्तिकर्ता मुलुकहरूमध्ये चीन प्रमुख स्रोत रहेको छ। चीनबाट मात्रै ३५ लाख ७० हजार थान चार्जर ल्याइएको छ, जसको खरिद मूल्य २८ करोड १० लाख रुपैयाँ रहेको छ। ती चार्जरबाट नेपालले जम्मा ८ करोड ६२ लाख रुपैयाँ राजस्व उठाएको छ।

भारत चार्जर आपूर्तिमा दोस्रो ठूलो स्रोत बनेको छ। भारतबाट ३ लाख ७२ हजार ६९२ थान चार्जर भित्रिएको छ। जसका लागि २ करोड १७ लाख रुपैयाँ खर्चिएको र ८० लाख ९९ हजार रुपैयाँ राजस्व उठेको छ।

मोबाइल चार्जर आपूर्तिमा चीन र भारतको व्यापक उपस्थिति देखिन्छ। दुवै देश सस्तो मूल्य र उच्च आपूर्तिका कारण नेपालको प्रमुख स्रोत बनेका छन्। भारतमा हाल चार्जर र यस्तै इलेक्ट्रोनिक सामग्री उत्पादनलाई प्राथमिकतामा राखेर पीएलआई, पीएमपी र मेक इन इन्डिया कार्यक्रम सञ्चालनमा छन्। ती योजनाले चार्जर, चिपसेट र कनेक्टर उत्पादन उद्योगलाई विशेष सुविधा प्रदान गरिरहेका छन्।

चीन पनि यस्तै प्रतिस्पर्धामा अघि बढ्दैछ। सन् २०२३ मा चीनको मोबाइल चार्जर बजारको आकार करिब ५.८ खर्ब रुपैयाँ रहेको थियो। २०३० सम्म यस बजारलाई अझ विस्तार गर्ने योजनामा चीन छ।

तर, यता नेपालमा भने यस्ता वस्तु उत्पादनतर्फ खासै ध्यान दिइएको छैन। नीति निर्माण तहमै स्पष्ट प्राथमिकता नदेखिएकाले मोबाइल चार्जरजस्ता आयातमा पूर्ण निर्भरता कायम रहेको देखिन्छ।

1

Scroll to Top