Banijya News

राजस्व संकलनमा राज्यको निराशाजनक उपलब्धि

1
1.3K Shares

महालेखापरीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन २०८२ ले सार्वजनिक गरेको बेरुजुको तथ्यांक र राजस्व संकलनमा देखिएको निराशाजनक उपलब्धिले नेपालको राज्यको आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ। यसले सुशासन र पारदर्शिताको अभावलाई स्पष्ट रूपमा संकेत गर्दै देशको समग्र विकास प्रक्रियामा ठूलो चुनौती थपेको छ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०८२ अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल रु.९४ खर्ब ६२ अर्ब ३६ करोडको लेखापरीक्षण भएकोमा रु.९१ अर्ब ६० करोड बेरुजु देखिएको छ। यो रकम सार्वजनिक खर्चको व्यवस्थापनमा निरन्तरको कमजोरीलाई देखाउँछ। प्रतिवेदनअनुसार, संघीय तहमा ३,०९३ संघीय सरकारी कार्यालयको रु.३१ खर्ब ६ अर्ब १६ करोडको लेखापरीक्षण गर्दा रु.४७ अर्ब ७४ करोड अर्थात् १.५४ प्रतिशत बेरुजु देखिएको छ। त्यस्तै, १,१६५ प्रदेश कार्यालयको रु.३ खर्ब ८ अर्ब ५६ करोडको लेखापरीक्षणबाट रु.४ अर्ब २० करोड अर्थात् १.३६ प्रतिशत बेरुजु कायम भएको छ। ७६१ स्थानीय तहको रु.११ खर्ब १८ अर्ब ४६ करोडको लेखापरीक्षण गर्दा रु.२५ अर्ब ३२ करोड अर्थात् २.२६ प्रतिशत बेरुजु देखिएको छ।

यसबाहेक, ६९५ निकायको रु.५ खर्ब २२ अर्ब १३ करोडको लेखापरीक्षण भएकोमा रु.१४ अर्ब ३३ करोड बेरुजु देखिएको छ। गत वर्षसम्मको बाँकी बेरुजु रु.६ खर्ब ६९ अर्ब ८६ करोड रहेकोमा यस वर्षको थपसमेत रु.७ खर्ब ३३ अर्ब १९ करोड बेरुजु बाँकी रहेको छ। यस वर्ष लेखापरीक्षणको क्रममा तथा सम्परीक्षणबाट रु.१४ अर्ब ४८ करोड मात्र असुल भएको छ, जुन बेरुजुको तुलनामा निकै कम हो। बेरुजु देखिनुका पछाडि खर्चको प्रमाण नभेटिनु, अभिलेख नमिल्नु, बिल नपुग्नु वा नियमन नमिलेकै कारण प्रमुख छन्। यसबाहेक, लेखा प्रणाली पूर्ण रूपमा डिजिटल नहुनु, कर्मचारीहरूको दक्षता अभाव, लापरबाही, सार्वजनिक खरिदमा हुने अनियमितता र भ्रष्टाचार पनि बेरुजुका प्रमुख कारण मानिएका छन्।

बेरुजुका साथै, राजस्व संकलनमा देखिएको ढिलाइ र लक्ष्य प्राप्तिमा कमजोरीले पनि राज्यको विकास कार्यक्रमहरूलाई प्रत्यक्ष प्रभावित पारेको छ। आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारको रु.१४ खर्ब ८८ अर्ब ६२ करोडको राजस्व संकलनको अनुमान विपरीत रु.१२ खर्ब ५१ अर्ब ५ करोड मात्र संकलन हुन सक्यो। यो गत वर्षको तुलनामा २.४० प्रतिशतले कम हो। त्यस्तै, विदेशी अनुदानको अनुमानित रु.४९ अर्ब ९४ करोड ३० लाख मध्ये रु.२३ अर्ब २८ करोड ८८ लाख मात्र प्राप्त भयो, जुन अनुमानको तुलनामा निकै कम हो। कर संकलनको सुस्त गति, सीमित करदाता, अनौपचारिक आर्थिक क्रियाकलापको व्यापकता र कर प्रणालीको जटिलता राजस्व घाटाका प्रमुख कारणहरू हुन्। साथै, सीमामा हुने चोरीपैठारी, भन्सार छली, ठूला व्यवसायी तथा बहुराष्ट्रिय कम्पनीहरूबाट हुने कर छली र डिजिटल कारोबारमा कर नीतिको अस्पष्टताले पनि राजस्व संकलनमा ठूलो चुनौती थपेको छ।

बेरुजु र राजस्व घाटाले सरकारी सेवाको गुणस्तरमा ह्रास, जनताको विश्वासमा कमी र विकासको गतिमा मन्दी ल्याउँछ। यो जनताको करको दुरुपयोग हो र यसले दातृ निकायको विश्वाससमेत घटाउँछ। जिम्मेवार व्यक्ति वा निकायलाई कारबाही नहुँदा यस्तो प्रवृत्ति दोहोरिइरहन्छ। यी समस्याहरूको समाधानका लागि डिजिटल लेखा प्रणालीको पूर्ण कार्यान्वयन, कर्मचारीहरूको दक्षता अभिवृद्धि र बेरुजु देखाउने निकाय वा व्यक्तिलाई कडा कारबाही अनिवार्य छ। कर प्रणालीलाई सरलीकृत बनाउँदै करदातालाई प्रोत्साहन दिने नीतिहरू लागू गर्नुपर्छ। कर प्रशासनमा सूचना प्रविधिको प्रयोग बढाएर अनलाइन कर भुक्तानी प्रणालीलाई सुदृढ बनाउनु जरुरी छ। भन्सार प्रणालीमा पारदर्शिता, स्वचालन र स्वचालित मूल्यांकन प्रणाली लागू गर्नुपर्छ। स्थानीय तहमा खर्चको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिनुपर्छ।

1

Scroll to Top