गरिमा सुवर्ण योजनाको इकाई फागुन २८ गतेदेखि निष्कासनमा आउने भएको छ । गरिमा क्यापिटल लिमिटेडले दोस्रो योजनाको रुपमा यस योजना सञ्चालन गर्न लागेको हो । यसअघि क्यापिटलले गरिमा समृद्धि योजना सञ्चालनमा ल्याएको थियो । यसअघिको योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको छ भने नयाँ योजना खुलामुखी प्रकृतिको रहेको छ । १ अर्ब रुपैयाँ आकार रहेको गरिमा सुवर्ण योजनाले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याउन लागेको हो ।
पहिलो चरणमा विक्री हुने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । यीबाहेक बाँकी रहेको ३५ करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो । यी इकाई निष्कासन अवधि छिटोमा चैत २ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा चैत १२ गतेसम्म निष्कासन लम्बिनेछ । लगानीकर्ताहरुले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
योजना व्यवस्थापकसँगै इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पनि क्यापिटलले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिनेछ । खुलामुखी प्रकिृतिको योजना भएकोले बाँकी रहेको इकाई यसपश्चात सामूहिक लगानी कोष नियमावलीको व्यवस्थाबमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरीदविक्रीका लागि खुला गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ ।


