त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पेन्सन विवादलाई लिएर कार्यरत झण्डै १ हजार ६ सय प्राध्यापक तथा कर्मचारीहरू विगत ६५ दिनदेखि उपकुलपति कार्यालय अगाडि अनिश्चितकालीन धर्नामा उत्रिएका छन्। त्रिविका पूर्वपदाधिकारीहरूले २०६६ भदौ २६ गते ‘गोप्य रूपमा’ पेन्सन हटाउने निर्णय गरेपछि अन्यायमा परेका कर्मचारीहरूले २०७६ सालदेखि नै आन्दोलन गर्दै आएका हुन्, जुन अहिले २०८२ चैत ३० गतेदेखि निरन्तर धर्नाको रूपमा चर्किएको छ।
आफैँ पेन्सनको सुविधा लिने तर तल्लो तहका कर्मचारीलाई वञ्चित गराउने तत्कालीन नेतृत्वको उक्त विभेदकारी निर्णयविरुद्ध आन्दोलनरत प्राध्यापक डा। नन्द किशोर सिंहले कडा आपत्ति जनाउँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन ।
यो विवाद सुल्झाउन २०८१ सालमा प्रा.डा. विनोद पराजुलीको संयोजकत्वमा गठित कार्यदलले विश्वविद्यालयको विभिन्न निकायमा रहेको जगेडा रकमको ४० प्रतिशत हिस्सा पेन्सन कोषमा राखेर सेवाअवधि पुगेकाहरूलाई पेन्सन दिन सकिने स्पष्ट राय दिएको थियो । तर, उक्त अध्ययन प्रतिवेदन बुझेर पनि त्रिविका पदाधिकारीहरूले पटक(पटक आश्वासन मात्रै दिएको तर कार्यान्वयनमा कुनै चासो नदेखाएको आन्दोलनकारीहरूको आरोप छ।
अर्कोतर्फ, नेपाल सरकारको पेन्सन नीति र त्रिविको यो निर्णयमा ठुलो विरोधाभास देखिएको छस तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०८२ असार ३१ सम्म र वर्तमान अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले २०८३ साउन १ अघि नियुक्ति पाउने राष्ट्रसेवकलाई पुरानै व्यवस्था अनुसार पेन्सन दिने नीति घोषणा गरे पनि त्रिविले भने डेढ दशक अघिदेखि नै पेन्सन रोकेर राखेको छ।
नेपाल संस्कृत विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरूले सरकारको निर्णयको सम्मान गर्दै पेन्सन सुचारु गरिसक्दा पनि देशकै जेठो विश्वविद्यालयमा भने नीतिगत हठ कायमै छ। हाल त्रिविमा निमित्त उपकुलपति प्रा।डा। सुशील बज्राचार्य, रजिष्ट्रार प्रा.डा. महानन्द चालिसे र रेक्टर प्रा.डा. शंकर खनालसहितको कामचलाउ नेतृत्व भएकाले पनि यो दीर्घकालीन र नीतिगत निर्णय लिन थप सकस भइरहेको छ, जसको प्रत्यक्ष मारमा १६ सय कर्मचारी परेका छन्।


