नेपालकै सबैभन्दा लामो नदी कर्णाली र यसको माथि अवस्थित चिसापानी पुलको प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने जोकोहीलाई सहजै मोहित बनाउँछ। प्रकृतिको यो अनुपम उपहार सुदूरपश्चिम क्षेत्रमा वर्षौँदेखि सम्भावनाको सीमाभित्रै कैद थियो। तर, पछिल्लो समय सरकारी तथा निजी क्षेत्रको पहलमा यस क्षेत्रको विकासका लागि उत्साहजनक प्रयासहरू सुरु भएका छन्। यसै सन्दर्भमा, सुदूरपश्चिमको पर्यटन र आर्थिक भविष्यलाई नयाँ दिशा दिन जालपादेवी केबलकार नामक एउटा महत्वाकांक्षी परियोजना अघि बढाइएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडा क्षेत्र जोड्ने यस परियोजनामा आइएमई समूहको मुख्य लगानी रहेको छ। विभिन्न चरणमा गरी करिब ६ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको यस आयोजना अन्तर्गत ३.१ किलोमिटर लामो केबलकार निर्माण भइरहेको छ। यसका साथै, बटम स्टेशनमा पाँचतारे होटल र ब्यान्क्येट हल तथा टप स्टेशन (राजकाँडा) मा होटल, रेष्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्ग र जालपादेवी मन्दिर जस्ता अत्याधुनिक पर्यटकीय पूर्वाधारहरू तीव्र गतिमा निर्माण भइरहेका छन्।
विगत एक दशकअघि स्थानीय व्यवसायीहरूले देखेको यो सपना आइएमई समूहको सहभागितापछि मात्र मूर्त रूप लिन सफल भएको हो। यो परियोजना २०८१ साल पुस १३ मा शिलान्यास भई गत वर्षको असारदेखि यसको निर्माण कार्य सुरु भएको थियो। आयोजनाका इन्जिनियर विजय पौडेलका अनुसार हाल पोल ठड्याउने र बटम तथा टप स्टेशन निर्माणका कामहरू अन्तिम चरणमा पुगेका छन्। आगामी असोज महिनाभित्रै केबलकार सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राविधिक प्रक्रियाहरू धमाधम अघि बढिरहेका छन्।
हाल चिसापानीमा दैनिक ५ देखि ७ सय आन्तरिक पर्यटक आउने गरे पनि पूर्वाधारको अभावमा उनीहरू केही घण्टामै फर्किने गरेका छन्। यो केबलकार परियोजनाले पर्यटकहरूको बसाइ लम्ब्याउन, खर्च बढाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन कोशेढुङ्गाको काम गर्ने विश्वास गरिएको छ। राजकाँडालाई कैलालीको अत्यधिक गर्मीबाट जोगिने एउटा उत्कृष्ट ुहिल स्टेसनुका रूपमा विकास गर्दा बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गल सफारी र कर्णालीको र्याफ्टिङ ९जलपर्यटन० लाई एकीकृत प्याकेजका रूपमा अघि बढाउन सकिने व्यवसायीहरूको सुझाव छ।
सुदूरपश्चिमका युवाहरू रोजगारीका लागि भारत वा खाडी मुलुक जानुपर्ने बाध्यतालाई यो परियोजनाले केही हदसम्म कम गर्ने आशा जगाएको छ। केबलकार, होटल, यातायात र सेवा क्षेत्रको विस्तारले हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना गर्नेछ। यसले स्थानीय थारू होमस्टे, कृषि उपज, हस्तकला र साना उद्यमहरूलाई नयाँ जीवन दिँदै स्थानीय नागरिकलाई आत्मनिर्भर र उद्यमशील बन्न ठूलो टेवा पुर्याउनेछ।
नेपाल–भारत खुला सीमा र सहज सडक सञ्जालका कारण यो परियोजना अन्तरदेशीय पर्यटनको बलियो केन्द्र बन्न सक्ने ठूलो सम्भावना छ। कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रूपैडिहा नाकाबाट सहज पहुँच भएकाले भारतका उत्तराखण्ड र उत्तर प्रदेश (जहाँ २७ करोडभन्दा बढी जनसङ्ख्या छ) का पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ। विशेषगरी गर्मी महिनामा शीतल वातावरण खोज्ने दिल्ली, लखनऊ, बरेली जस्ता भारतीय सहरका पर्यटकका लागि राजकाँडा र चिसापानी क्षेत्र प्रमुख आकर्षक गन्तव्य बन्ने निश्चित छ।
जालपादेवी केबलकार प्रालि तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार यो आयोजना एउटा क्षेत्रमा मात्र सीमित नभई सातै प्रदेशमा ठूला पर्यटन पूर्वाधार विकास गर्ने दीर्घकालीन रणनीतिको हिस्सा हो। कर्णालीको किनार, चिसापानी पुल र राजकाँडाको प्राकृतिक सौन्दर्यलाई समेटेर बन्न लागेको यो एकीकृत परियोजनाले सुदूरपश्चिमको आर्थिक रूपान्तरणको बलियो जग बसाल्ने र देशकै अर्थतन्त्रमा ऐतिहासिक योगदान पुर्याउने मार्गचित्र कोरेको छ।


