नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले थप तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै श्रीमती दोमाया पौडेलले असार १० गते सर्वोच्चमा यो रिट दायर गरेकी थिइन्। यसअघि न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले यो मुद्दासँग सम्बन्धित विशेष अदालतको सम्पत्ति शुद्धीकरण मुद्दा, उच्च अदालत पाटनको बैंकिङ कसुर मुद्दा, र काठमाडौँ जिल्ला अदालतमा रहेका बिमा तथा धितोपत्र (सेयर) सम्बन्धी कसुरका सक्कल फाइलहरू झिकाउन आदेश दिएको थियो।


