नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। व्यवसायी दीपक भट्टसँगको शङ्कास्पद कारोबारलाई लिएर अनुसन्धानको दायरामा तानिएका पौडेललाई विभागकै सिफारिसका आधारमा सोमबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ गरिएको थियो।
पक्राउ परेलगत्तै सडक मार्ग हुँदै मंगलबार बिहान काठमाडौँ ल्याइएका पौडेलमाथि थप छानबिन गर्न विभागले अदालतसमक्ष २० दिनको थुना म्याद माग गरेको छ। व्यवसायी भट्टसँग जोडिएको वित्तीय अपचलन र शङ्कास्पद कारोबारको विषयमा विभागले उनीमाथि गम्भीर अनुसन्धान अघि बढाएको छ।


